स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

12:36:00 am

पेट्रोल आविष्कारपछि मोटरसाइकलमा प्रयोग

सामग्री प्रस्तुति Ram Prasad Panta

- प्रदीप पाण्डेय
मुलुकमा पेट्रोलियम पदार्थ हाहाकार भइरहेकै बेला दाङका विद्यार्थीले पेट्रोलियम पदार्थ उत्पादन गरेका छन् । उनीहरूले सल्लाको खोटोबाट मट्टीतेल, डिजेल र पेट्रोल बनाई प्रयोगमा समेत ल्याएका छन् । यसअघि विभिन्न आविष्कार गरेका विशाल पुन, मार्शल रोका र हरि केसीले पछिल्लोपटक सल्लाको खोटोबाट पेट्रोलियम पदार्थ उत्पादन गरेका हुन् ।सल्लाको खोटो र पानीलाई तताई वाफबाट पेट्रोलियम पदार्थ उत्पादन गरेको विद्यार्थीले जानकारी दिए । उनीहरूले उत्पादन गरेको मट्टीतेलबाट स्टोभ र लालटिनसमेत बल्ने गरेका छन् । यसैगरी आगो बाल्दासमेत प्रयोगमा आइरहेको उनीहरूले बताए । उत्पादित डिजेल र पेट्रोलबाट सवारी साधन सहज रुपले चल्ने दाबी विद्यार्थीको छ । आविष्कार टोली प्रमुख विशाल पुन सल्लाको खोटो र पानीको वाफ दुवैलाई शुद्धीकरण गरे तेल उत्पादन हुने दाबी गर्छन् । उनले सोही प्रक्रियाबाट ग्याससमेत बनाउन सकिने बताए ।छोराले बनाएको मट्टीतेल आगो बाल्दा प्रयोग गरिरहेको बताउने मार्शल रोकाकी आमा हर्कमायाले कहिलेकाहीँ ग्यास अभाव टार्न स्टोभसमेत बाल्ने गरेको जनाइन् । उनले भनिन्, 'हामीले छोराहरूलाई सहयोग गरिरहेका छौं, सरकारले पनि सहयोग गरे उनीहरूको क्षमता सदुपयोग हुने थियो ।' हालसम्म विभिन्न आधा दर्जनभन्दा बढी नयाँ प्रविधि आविष्कार गरिसकेका विद्यार्थीले यसअघि डोजर, पेरिस्कोप, टेलिस्कोप, एएम ब्यान्ड, वाकीटकी, लेजरलगायत सामग्री आविष्कार गरिसकेका छन् । उनीहरूको आविष्कारप्रति कुनै पनि सरकारी निकाय र संघ-संस्थाको ध्यान जान सकेको छैन । हाल घोराहीस्थित भ्याली टप बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले सबैको सहयोग पाए जिल्लामै प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने दाबी गर्छन् । मार्शल रोकाका अनुसार, उत्पादित हुने तेल सस्तो र गुणस्तरीयसमेत हुने गरेको छ । रोका भन्छन्, 'हामीलाई सरकारले सहयोग गरे दैनिक सयौं लिटर तेल जिल्लामै उत्पादन गरेर देखाइदिन्छौं ।' अर्का विद्यार्थी हरि केसी डाल्डा घ्यूबाट पेट्रोल उत्पादन गर्न सकिने भए पनि महँगो हुने बताउँछन् । उनले नेपालमा प्रशस्त सल्लाको खोटो पाइने भएकाले यसबाट सस्तो र गुणस्तरीय तेल उत्पादन गर्न सकिने बताए । उनले भने, 'हामीले ल्याब नै दर्ता गरी नयाँ-नयाँ आविष्कार गर्ने कार्यक्रम बनाएका छौं ।' उनीहरू भविष्यमा मानवयन्त्र रोबर्ट बनाउने तयारीमा छन् । विद्यार्थीको पेट्रोल आविष्कारपछि मोटरसाइकलमा राखेर प्रयोग गरेका स्थानीय वसन्त श्रेष्ठले मोटरसाइकल सहज रुपमा गुडेको बताउँछन् ।