साहित्य
मैले देखेको सपना विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनला...