स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

जेठ ५,   
               कुमारी आमाबाट जन्मेका सन्तानले वंशजकै आधारमा नागरिकता पाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाको जिल्लास्थित महिला मानव अधिकार रक्षकहरुले स्वागत गरेका छन् ।
महिला मानव अधिकार रक्षकहरुको सञ्जालका अध्यक्ष लक्ष्मी आचार्य, महिला पैरवी मञ्चका अध्यक्ष कृष्णा राना, विधवा महिला सरोकार केन्द्रका अध्यक्ष हुमा डि.सी. लगायतका महिला अधिकार सम्बद्ध संघसंस्थाहरुले शुक्रवार विज्ञप्ति निकालेर सर्वोच्चको सो फैसलाको स्वागत गरेका हुन् ।
'पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु । बाबु खोज्ने प्रचलन कुरीति हो, यो उन्मूलन गर्न चेतनामूलक शैक्षिक अभियान थाल्नू' सर्वोच्चको फैसला उद्दृत गर्दै विज्ञप्तिमा भनिएको छ,  ' आमाको नामबाट नागरिकता लिनलाई सहज वनाउने सर्वोच्चको सो फैसला अत्यन्त सकारात्मक छ । सर्वोच्चको सो फैसलाको हामी स्वागत गर्दछौं' प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'सो फैसलामा तदारुकता देखाई तत्काल कार्यान्वयनमा लैजान सम्बद्ध पक्षको ध्यानाकृष्ट पनि गराउँन चाहन्छौं ।'
दोलखाकी एक युवतीलाई नागरिकता दिलाउँदै आइन्दा यस्तो अवस्थाका सबैलाई नागरिकता दिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । ती युवतीलाई आमाकै नामबाट नागरिकता दिन सर्वोच्चले सरकारलाई आदेश दिएको थियो । फैसलाको पूर्णपाठ गत विहिबार (जेठ ५ गते ) तयार भएको छ जसमा पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु भन्ने आदेश गृह मन्त्रालयमा दिइएको छ ।
फैसलाले महिलाको आत्मसम्मान र स्वाभिमानको रक्षा गरेको भन्दै जिल्लाका महिला मानव अधिकार रक्षकहरुले नेपाली नागरिकका सन्तानलाई विभिन्न नाममा अनागरिक हुनुको पीडा भोग्दै आउनुपरेको सदियौंदेखिको कुपरम्परा र प्रचलन तोडिएको वताएका छन् ।

7:10:00 am

गृहमन्त्री महराले दिनु भएको सन्देश

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ६ जेठ
उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र जनताको सम्बन्धलाई सुदढ् गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उहाँले जनतासँगको सम्बन्ध सुदृढ गर्नका लागि मातहतका अधिकारीहरुलाई निर्देशनसमेत दिईसक्नुभएको छ ।
शुक्रबार िसंहदबारस्थित गृहमन्त्रालयमा मन्त्रालयमातहतका उच्चअधिकारीहरुको माझमा गृहमन्त्रालय साचालनसम्बन्धी आफ्नो रोडम्याप प्रस्तुत गर्नुहुँदै गृहमन्त्री महराले जनताको सुरक्षाका लागि कुनै पनि कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । काठमाडौं उपत्यकामा रहेका मन्त्रालयत मातहतका सहसचिव र तीन सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिडाईजीसम्मका उच्च अधिकारीहरुको माझमा मन्त्री महराले आफ्नो रोडम्याप प्रस्तुत गर्नुभएको हो ।
गृहमन्त्री महराले ुसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाु नारा लिनुभएको छ । शुक्रबार नै गृहमन्त्रालयमा केही साचारकर्मीहरुको सहभागीतामा गृहमन्त्रीले मन्त्रालयका उच्चअधिकारी र सुरक्षा निकायका उच्चअधिकारीहरुमाझ प्रस्तुत गर्नुभएको आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको छ ।
पत्रकार भेटघाटमा मन्त्री महराले शान्ति सुरक्षा सुदृढका लागि सुरक्षा निकाय निष्पक्ष स्वतन्त्र र व्यवसायिक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भष्टचार नियन्त्रणमा लागीपर्ने छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने आफ्नो कार्यक्रममा उल्लेख गर्नुभएको छ । पत्रकारको एक जिज्ञासामा मन्त्री महराले दसवर्षे जनयुद्धको क्रममा राजनीतिक पूर्वाग्रहमा लगाइएका सम्पूर्ण मुद्दाहरु फिर्ता हुनुपर्ने बताउनुभयो । वृहत् शान्तिसंझौताले जनयुद्धकालका मुद्दा खारेज गरिसकेको बताउनुभयो । 
गृहमन्त्री श्री कृष्णवहादुर महराले दिनु भएको सन्देश
१।  अहिले हाम्रो देशको मूल एजेण्डा नयाँ संविधान निर्माण गर्ने र शान्ति प्रकि्रयालाई सकारात्मक निष्कर्षमा पुर्याउने हो । सरकार यही दायित्व पूरा गर्ने दिशामा अघि बढिरहेको  छ । इतिहास र क्रान्तिले सुम्पेको यो दायित्व सम्पन्न गर्ने क्रममा वर्तमान सरकार दृढतापूर्वक लागि परेको छ ।
२।  सशस्त्र द्वन्द र जनआन्दोलनबाट प्राप्त उपलव्धिहरुको संस्थागत विकास गर्दै अघि बढ्नु आजको हाम्रो कर्तव्य हो । बिभिन्न वर्ग क्षेत्र लिङ्ग जातजाति भाषाभाषी एवं धर्म संस्कृतिका जनसमुदायको परिवर्तनको आकांक्षा र समयको आवश्यकतालाई बुझ्न र सही संवोधन गर्न सक्नुमा हाम्रो अहिलेको क्षमता अभिव्यक्त हुन्छ । यही नै नयाँ संविधानले चाहेको मर्म शान्ति प्रकि्रयाको सम्मानजनक निकास र नयाँ नेपालको सार पनि हो ।
यतिवेला हामी संक्रमणकालको उत्कर्षमा छौं । बिगतका सबै क्रान्ति वा जनआन्दोलनका शक्तिहरु वा वर्तमान नयाँ नेपाल निर्माणका सबै सहभागी शक्तिहरु नयाँ संविधान निर्माणको महान वहसमा जुटिरहेको वेला केही स्वार्थी तत्वहरु संक्रमणकालको नाजायज फाईदा उठाउन र समस्या उत्पन्न गर्ने कुचेष्ठा पनि गरिरहेका छन् । संक्रमणकालीन अवस्था निकै संवेदनशील र जटिल त हुन्छ नै । मलाई थाहा छ यस्तोबेला स्थानीय प्रशासन र सम्वन्धित सुरक्षा निकायले एकै पटक कानूनको नियमनकर्ता प्रयोगकर्ताको साथै राजनैतिक सामाजिक अन्तरविरोधहरुको समाधान गर्नु्र पर्ने बाध्यता छ । त्यसमा पनि बृहत शान्ति संझौताको मूल मर्म र विद्यमान अन्तरिम संविधानले निर्दिष्ट गरेको कानूनको पालना गर्नु र गराउनु नै हाम्रो मूल कर्तव्य हो र हुनुपर्छ । दण्डहीनताको अन्त्य र विधिको शासनको स्थापनाको मूल मर्म यही हो ।३।  नेपाली जनताको जिउधनको सुरक्षा गर्नु राज्यको र सरकारको पहिलो दायित्व हो भने सुरक्षित वातावरणमा रहन वाँच्न वा जीविकोपार्जन गर्न पाउनु जनताको मौलिक हक पनि हो । वर्तमान अवस्थामा देशभित्र देखिएको शान्ति सुरक्षामा देखिएका कमी कमजोरीहरुलाई हटाएर आम जनतालाई सुरक्षाको अनुभूति गराउनु सरकारको प्राथमिक कार्यभार हो । यसका लागि सरोकारवालाहरुसंगको बृहत परामर्श र सहकार्य गरी राष्ट्रिय सुरक्षा नीति र आन्तरिक सुरक्षा रणनीति तर्जुमा गर्ने सोचाई सरकारले राखेको जानकारी गराउन चाहन्छु ।

मूल्यांकनको मुख्य आधार सही कार्य सम्पादन नै हो । राजनैतिक आस्थाका आधारमा कार्य सम्पादनको मूल्यांकन गर्ने नीति मैले लिने छैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई सजाय गर्न काजुस्याई गरिने छैन । कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कारको नीति अवलम्वन गरिने छ । सरकार राष्ट्रसेवकहरुको पेशालाई मर्यादित सक्षम व्यवसायिक र आधुनीकिकरण गर्दै लैजान प्रयासरत हुनेछ । वास्तवमा राष्ट्रसेवकहरु नै देशका पूर्णकालीन कार्यकर्ताहरु हुन र राष्ट्रिय स्वार्थ र जनताको सेवा नै उनीहरुको पहिलो प्राथमिकता हुनु पर्छ । राष्ट्रिय स्वार्थको अगाडि निजी स्वार्थ गौण राखेर काम गर्नु हुने नै छ भन्ने विश्वास मैले लिएको छु ।

जनता सार्वभौम र सर्वोपरी हुन । जनताको चाहना विपरित कुनै पनि सरकार अगाडी वढ्न सक्दैन र जनतालाई केन्द्रविन्दु नवनाई लागू गरिएको योजना नीति र कार्यक्रमहरु सफल हुंदैनन् भन्ने तथ्यलाई विशेष ध्यान दिनु पर्छ । राज्यले प्रवाह गर्ने सार्वजनिक सेवाहरु जनता केन्द्रित हुनु पर्दछ र सेवा प्रवाहको क्रममा भएका कार्यहरु पारदर्शी पनि हुनु पर्छ । शान्ति सुरक्षा कायम गर्ने र सेवा प्रवाह गर्ने कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुले अधिकारको प्रयोग मात्र होइन जवाफदेहिता वहन गर्न पनि त्यत्तिकै जरुरी छ । तसर्थ जनता माझ पुर् याउने सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी वनाउन सेवा प्रवाह सम्बन्धि कार्यविधिहरु तर्जुमा गर्दै जाने नीति लिइने छ ।

सरकार उच्च मनोवल सहित आफ्नो तोकिएको कार्य सम्पादन गर्न सबै राष्ट्र सेवकलाई आग्रह गर्दछ र भ्रष्टाचार नियन्त्रणमा सबै सरोकारवालाहरुको सहयोग प्राप्त गर्ने विश्वासमा दृढ छ । यसका निमित्त भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यलाई बिशेष प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने छ ।

गृह प्रशासनसंग सम्वन्धित मौजुदा ऐन नियमहरुको पुनरावलोकन गरी वर्तमान आवश्यकताका आधारमा नयाँ ऐन नियमहरुको तर्जुमा गरिने छ । गृह प्रशासन सुधार संग सम्वन्धि विगतका गठित आयोगहरुका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिईने छ ।

शान्ति सुरक्षा कायम राख्ने काम स्थानीय जनताको सहयोग र समर्थन विना संभव हुँदैन । त्यसैले नागरिकहरुलाई बर्दी विनाको प्रहरी भनि महत्वका साथ भन्ने पनि गरिन्छ । कार्यसम्पादनको क्रममा साधन र स्रोतको अभाव हुन सक्छ । हाम्रो जस्तो मुलुकमा चाहे जति वा मागे जति साधन र स्रोतको विन्यास सम्भव नहुनु पनि स्वाभाविकै हो । यस्तो स्थितिमा स्थानीय प्रशासन र स्थानीय सुरक्षा निकायहरुले स्थानीय जनतासँगको सहकार्यमा सीमित श्रोतबाट अधिकतम उपलब्धि हासिल गर्ने गरी कार्य नगरी सुख्खै छैन । यसर्थ सुन्दर शान्त एवं समृद्ध नेपालको हाम्रो सपना साकार पार्न ूसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाू हाम्रो परिकल्पना हुनेछ ।

    राज्यद्वारा शान्ति सुरक्षा कायम अपराध नियन्त्रण तथा कानूनको परिपालना गराउने क्रममा व्यक्तिको मानव अधिकारको पूर्णातः संरक्षण र सम्मान गर्ने हाम्रो नीति रहनेछ । अपराध अनुसन्धानको सिलसिलामा सुरक्षा निकायको हिरासतमा रहेका व्यक्तिहरु तथा कारागार भित्रका वन्दी तथा थुनुवाहरुमाथि गरिने व्यवहारमा जेनेभा कन्भेन्सन तथा मानवाधिकार सम्वन्धित अन्तर्राष्ट्रिय महासन्धिको पूर्णतः पालना गर्नु हाम्रो कर्तव्य हो ।

राष्ट्रिय अखण्डता सार्वभौकिता एकता तथा स्वाधीनतालाई केन्द्रविन्दु मान्दै र छिमेकी मुलुकहरुको अखण्डता र सार्वभौमिकतालाई सम्मान गर्दै नेपालको कुनै पनि भू-भागमा कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारका गतिविधि गर्न दिइने छैन ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना हो । राज्यले गरेका असल कामहरु वारे जनतालाई सुसूचित गर्ने र गलत कार्यहरु प्रति खवरदारी गर्न प्रेसको अहम् भूमिका हुन्छ । बिभिन्न अपराधिक समूहहरुबाट भैरहेको प्रेस तथा पत्रकारहरुमाथिको भौतिक आक्रमण तथा मानसिक दवाव निस्तेज पार्दै पत्रकार तथा संचार गृहको पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गर्दै मिडिया मैत्री नीति र व्यवहार अपनाइनेछ ।

सबैलाई ज्ञान नै छ कि एउटा विशिष्ट राजनीतिक परिस्थितिमा तत्कालीन राज्यसत्ताको विरुद्धमा १० वर्षे जनयुद्ध संचालन भएको थियो । जनयुद्धको क्रममा भएका सुरक्षा कारवाईहरु स्वभाविक नै थिए । तापनि त्यस कालखण्डमा घटेका कुनै घटना वा कारवाहीलाई आधार मानेर माओवादीले कसैप्रति पनि पूर्वाग्रह नराख्ने र राष्ट्र सेवक सुरक्षाकर्मीहरुले पनि आग्रह पूर्वाग्रह नराख्न समेत अपील गर्दछु । हामी सबैले नयाँ परिवर्तनलाई आत्मसात गरिरहेका छौं । तसर्थ हिजोका युद्धरत दुईपक्ष विच कुनै पनि किसिमको मनोवैज्ञानिक दूरी रहन आवश्यक छैन भन्ने कुरामा विशेष जोड दिन चाहन्छु ।

वर्तमान सरकार निर्माण भए पछि केही दृश्य अदृश्य तत्वहरुद्वारा हत्या िहंसाका घटना घटेका छन् र शान्ति सुरक्षा कमजोर वा भययुक्त छ भन्ने देखाउन दुस्प्रयास भएको छ । म यस अघिका घटनामा हताहत हुने र घाइते हुनेहरु प्रति समवेदना र दुःख प्रकट गर्दछु । घटनामा संलग्न अपराधीहरुको खोजी र अनुसन्धान शीघ्र गरी कानूनी दायरामा ल्याई सार्वजनिक गर्न र त्यस प्रकारका कुनै पनि घटना हुन नदिन गृह प्रशासन र सुरक्षा निकाय अहोरात्र सजग र सर्तक हुन निर्देशन दिन चाहन्छु ।

संक्रमकणकालीन अवस्थाको नाजायज फाईदा उठाउन चाहने नियम कानूनको अवज्ञा गर्ने समाजमा अराजकता सिर्जना गर्ने वा अपराध गर्ने पक्षसँग सरकार गृह प्रशासन र मातहतका सबै सुरक्षा निकाय झुक्न सक्दैन । परिस्थितिको वस्तुनिष्ठ आंकलन गरी तथ्य वाहिर निकाल्न हामी इमान्दार वन्नै पर्दछ । गलत तत्वहरुसँग सम्झौता गर्न सकिदैन । म यसमा विश्वस्त छु कि हाम्रा सुरक्षा निकाय यस तर्फ सचेत छन् ।

म परिणाममा बिश्वास गर्ने राजनीतिकर्मी हुँ । त्यसैले मेरो मातहतका निकायबाट पनि त्यही अपेक्षा राख्दछु । म सुरक्षा मापदण्डमा हस्तक्षेप गर्दिन तर सुरक्षा मामिलामा संझौता गरिएको अनुशासनहिनता प्रकट गरिएको आर्थिक अनियमितता गरेको प्रलोभनमा परेको पक्षपात या नातावाद भयो भने हेरेर पनि बस्दिन । म जति सहज र सरल छु कर्तव्यच्यूत हुनेप्रति त्यत्तिकै कठोर पनि छु ।

हाम्रो कार्यक्षेत्र हाम्रो देश नेपाल र नेपाली जनता हो । यसर्थ हाम्रो उद्देश्य देश र जनताका लागि ूसरल प्रशासन र प्रभावकारी सुरक्षाू द्वारा ूसहज र सुलभ जनसेवाू हुनु पर्दछ । हामी इमान्दार सक्षम र उच्च मनोवलयुक्त भएर मात्र सरल प्रशासन र प्रभावकारी सुरक्षा नारालाई व्यवहारिक रुप दिन सक्ने छौं । समग्र देशको हित र विकास गर्न सक्यौ तथा देशवासीहरुको जीवनस्तर माथि उठाउन सक्यौं भने हामी सबैको हित र विकास स्वतः हुन जाने तथ्यलाई हामीले मनन गर्नु पर्दछ । म इमान्दार सक्षम र उच्च मनोवलयुक्त कर्मचारी र सुरक्षाकर्मीको सधैं सम्मान गर्नेछु  र साथमा रहनेछु । ईमान्दार तर असक्षम सक्षम तर अईमान्दार तथा कमजोर मनोवल मेरो विपरित प्रबृत्ति हो । ईमान्दार भएर मात्र कर्तव्यनिष्ठ हुन सकिन्छ । इमान्दार सक्षम र उच्च मनोबलयुक्त व्यक्ति मात्र प्रभावकारी वन्न सक्छ । गल्ती नगरौं र गल्ती गर्नेबाट पनि नडराउँ । ूनविराउ र नडराऊ हाम्रो आदर्श हुनु पर्दछ ।
मेरो एक मात्र केन्द्र देश र नेपाली जनता हुन् । यो देश हामी सबैको हो । देशमा शान्ति सुव्यवस्था कायम राख्न सक्यौं भने हाम्रा सम्भावनाका सबै ढोका खुल्ने छन् । हाम्रो पार्टी र सरकारले देशको विग्रदो शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याउन र आजको दिन देखि सकेसम्म कुनै अपराधजन्य घटना हुन नपाउन आकस्मिक रुपमा कुनै घटना घटिहाले पनि अनुसन्धानको तीर अन्यत्र मोडेर उम्किने प्रवृत्तिको अन्त गर्ने बिश्वासका साथ मलाई गृह मन्त्रीको जिम्मेवारी सुम्पेको छ । यो जिम्मेवारी सफलतापूर्वक वहन गर्न गृह प्रशासनको सम्पूर्ण संरचना मातहतका सुरक्षा निकायहरु र सम्वन्धित सबै क्षेत्रको निरन्तर सकि्रय सहयोगको अपेक्षा राख्दछु ।

             दुईवर्षे कार्यकाल तोकेर गठन गरिएको संविधानसभाले निर्धारित समयभित्र संविधान निर्माण नगरी वर्षैपिच्छे म्याद थप गर्दै समयावधि लम्ब्याउने सिलसिला जारी राखेपछि संविधानसभाको औचित्य र उपादेयतालाई लिएर मुलुकमा बहस र विवाद प्रारम्भ भएको छ। संविधानसभा सदस्यको जिम्मेवारीलाई आकर्षक जागिर ठान्नेहरू र अतिवामपन्थीहरू, केवल यी दुईथरी मानिस यसको निसर्त निरन्तरताको पक्षमा देखिएका छन्। बाँकी प्रजातन्त्रवादी, स्वतन्त्र नागरिक र देशभक्तहरू वर्तमान संविधानसभाको अन्त्येष्टि गरी ताजा जनादेश या त्यस्तै उपयुक्त विकल्पमा जानु उपयुक्त हुने ठान्दै छन्। दुई वर्षका लागि छानिएका प्रतिनिधिले वर्षैपिच्छे आफैंलाई चुन्दै कार्यकाल थप गर्नु प्रजातान्त्रिक दृष्टिले जायज मानिएको छैन। तर, लज्जाबोध नभएपछि वस्त्रविहीन मानिस सडकमा र समाजमा बेफिक्री घुम्न सक्छ भनेझैं सभासद् रहेका अधिकांश राजनीतिकर्मी जनधारणाविपरीत आफ्नो कार्यकाल लम्ब्याउन तत्पर देखिए, त्यसको अगुवाइ गरे प्रचण्ड र झलनाथले। प्रचण्ड ती नेता हुन् जो राज्यकोष रित्तिनेगरी आफ्ना कार्यकर्ता पालनपोषण गर्नु उचित ठान्छन्, जसले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव फेरि बहाल हुन मुस्किल पर्ने गरी देशलाई अस्तव्यस्त बनाउन मुख्य भूमिका निर्वाह गरे, धर्मको विरोधको नाममा सनातनी हिन्दू धर्मलाई क्रमशः विस्तापित गरी इसाई धर्मलाई अघोषित रूपमा संरक्षण दिई विस्तार गर्न योगदान पुर्‍याए। झलनाथ त्यस्ता विभीषण हुन् जो आफ्नै लङ्का जलाउन अयोध्याका मानिसले पालेको बाँदर (हनुमान)लाई बाटो देखाउँदै छन्। गिरिजाप्रसादले प्रथम राष्ट्रपति बन्ने प्रलोभनमा परेर प्रजातन्त्र, मुलुक र काङ्गे्रसलाई जुन अवस्थामा पुर्‍याए अब झलनाथ गिरिजाप्रसादले पूरा गर्न बाँकी राखेको एउटा कर्ममा आफूलाई समर्पित गर्दै छन्– 'सर्वहारावर्गका नाममा माओवादी कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादी व्यवस्था स्थापना गर्ने। २०४६ सालमा मदन भण्डारीले आफूलाई पार्टी महासचिवबाट हटाएको बदला लिनु झलनाथको एक मात्र उद्देश्य रहेको देखिन्छ। बहुदलीय जनवादको अवधारणालाई विस्थापित गरी एकदलीय अधिनायकवाद स्थापना गरिँदा मात्र मदन भण्डारीसँग साँचो अर्थमा बदला लिन सकेको हुन्छ भन्ने दृढ अठोटका साथ झलनाथ माओवादीको कथित क्रान्ति प्रक्रियाका सहयोगी बन्न पुगेको अनुमान गर्नु उचित हुनसक्छ। संविधानसभाको कार्यकाल थप गर्दा आफू नेतृत्वको सरकारको आयु वृद्धि हुने र प्रचण्डसँग गरिएको गुप्त सम्झौताअनुसार निश्चित समयमा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न पनि पाइने हुँदा झलनाथको प्रथम प्राथमिकता संविधानसभाको कार्यकाल थप गर्नु बनेको छ। प्रचण्ड जो राज्य संयन्त्रहरूको उपयोग गर्दै विधिसम्मत ढङ्गबाट नै सम्पूर्ण राज्यसत्तामाथि आफ्नो नियन्त्रण कायम गर्न चाहन्छन् उनका लागि संविधानसभाको मरण पुनः रोल्पा, रुकुम फिर्ता हुनुसरह हो, त्यसैले प्रचण्ड स्वाभाविक मृत्युबाट संविधानसभालाई जोगाउन जीवन–मरणको सङ्घर्ष गर्दै छन्, उनले यसो गर्नु स्वाभाविक छ। संविधानसभालाई माओवादीले साध्यपूर्तिको रणनीतिक साधनका रूपमा उपयोग गर्न मात्र चाहेको छ, संविधान निर्माणका लागि होइन। यो सत्य बुझ्न ढिलाइ हुँदै जाँदा माओवादीको जरा राज्य–संयन्त्रको नसा–नसामा घुस्दै छ र उसका हातपाखुरा वलिष्ठ हुँदै छन्। धेरै मानिस माओवादीलाई काङ्गे्रस या एमालेको विकल्प ठान्छन्, तर माओवादी स्वयम् आफूलाई कुनै पार्टीविशेषको मात्र विकल्प ठान्दैन। ऊ आफूलाई राज्य–प्रणालीकै विकल्प ठान्छ र सम्पूर्ण सत्ताको मालिक आफू एक्लै बन्ने 'नयाँ' (तर पुरानै हो) प्रणाली स्थापनाको अभ्यासमा छ। उनीहरू शान्ति प्रक्रियामा आएको भ्रम दिँदै क्रान्तिप्रक्रियामा केन्द्रित छन्। यस्तो पृष्ठभूमिमा अन्य स्वतन्त्र नागरिक, प्रजातन्त्रवादी, देशभक्त र चेतनशील एवम् बुद्धिजीवी समुदाय संविधानसभा निरन्तरताको पक्षमा किन क्रियाशील हुने? संविधानसभा जहाँ गैरप्रजातन्त्रवादी र गैरदेशभक्तहरूको बाहुल्य छ, जहाँ देशलाई केन्द्रबिन्दुमा राखेर धारणा बनाउनेहरूभन्दा पार्टी या एउटा निश्चित सिद्धान्त र विचारलाई केन्द्रमा राख्ने या कुनै प्रकारको विचार, क्षमता, योग्यता, प्रतिभा र इमानदारीरहित मानिसहरूको भीड लागेको छ। जसले निरन्तरता पाइरहँदा हिंसा, हिंसात्मक प्रवृत्ति, अराजकता, अनुशासनहीनता र गैरसमृद्धिमुखी प्रवृत्तिको मात्र संरक्षण हुन सक्दछ, त्यस्तो संविधानसभाको कार्यकाल थप्ने या त्यसलाई जीवित राख्ने कुरा गरेर नेपाली जनतालाई कतिसम्म अपमान र उपेक्षा गर्न खोजिँदै छ? एक देशपे्रमी नेपालीले सोच्नैपर्ने बेला आएको छ। विद्यमान संविधानसभाले भइरहेको सामाजिक सद्भाव खलबल्याउने काम गरेको छ, जातीय र क्षेत्रीय एकता र सद्भावलाई बिथोलेको छ, बेथिति र विसङ्गतिलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई दुर्बल तुल्याउन मुख्य भूमिका निर्वाह गरेको छ, नयाँ केही खोज्ने नाममा 'यदुवंशी नाश गर्ने मुसल फेला पारेको' देखाउँदै छ। यही संविधानसभाले संविधान बनाउने हो भने देशको एकता भङ्ग हुने र देश स्थायी रूपले गृहयुद्धको भुमरीमा फस्ने निश्चित छ। यस्तो अवस्थामा वर्तमान संविधानसभाले संविधान निर्माण गरेकोभन्दा नगरेको नै उचित मान्न सकिन्छ। साँच्चै भन्ने हो भने संविधानसभाले संविधान निर्माण गरेरभन्दा नगरेर मुलुकलाई धेरै ठूलो गुन लगाएको छ। यस्तै पृष्ठभूमिमा संविधान निर्माण गरेर जारी गरिएको भए देशले त्यसैबेलादेखि गृहयुद्ध व्यहोर्नुपर्दथ्यो भन्ने पर्याप्त आधारहरू छन्। कम्तीमा तीन वर्षसम्म संविधान नबनाइदिएर देशलाई गृहयुद्धमा जानबाट बचाएकोमा संविधानसभालाई धन्यवाद दिँदै जेठ १४ गते एउटा आतङ्कको अन्त्य गर्न देशवासी तयार हुनुपर्छ। मानिसहरू संविधानसभाको सदस्यले भत्ता खाएकोलाई इस्यु बनाउँछन्। भत्ता ठूलो मुद्दा होइन, अयोग्यहरूले समेत सुवर्ण मौका पाउनुपर्छ भनेर नै लोकतान्त्रिक गणतन्त्र ल्याइएको हुँदा कुनै पनि देशभक्त प्रजातन्त्रवादीहरूले यसमा चित्त दुखाउनु उचित होइन। पढाइमा कमजोर भए पनि वैज्ञानिक, इन्जिनियर, प्राध्यापक, वकिल, पत्रकार, चिकित्सक, व्यवस्थापक, प्रशासक आदि बन्न पाउनुपर्छ भनेर यहाँ कोटा प्रणाली कायम गरिसकिएको छ। यही बुझेर विद्यार्थीले चिट चोर्न पाउनुपर्ने माग गर्दै भव्य जुलुस प्रदर्शनसमेत गरिसकेका छन्। जब चोरेरै पास गर्ने र चोरेर खान पाउने अधिकारलाई सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो भने संविधान निर्माण गर्न अयोग्य रहे भन्दैमा सभासद्हरूले तलब–भत्ता खान पाउनुहुन्न भन्नु सर्वथा उचित होइन। मुख्य कुरा त के हो भने ०६४ सालमा संविधानसभाको निर्वाचन हुँदा पन्ध्र वर्ष पुगेका युवायुवती अहिले अठार वर्ष पूरा भई मतदाता बन्न योग्य भइसकेका छन् र यस्ता युवाको सङ्ख्या दस लाखभन्दा बढी रहेको अनुमान गरिन्छ। यहाँ देशको भविष्यका लागि संविधान बनाइँदै छ भने भावी पुस्ताका लाखौँ युवाको मतलाई बाहिर पारेर संविधान निर्माण गरिनु अनुचित र अनुपयुक्त छ। संविधानसभाका वर्तमान प्रतिनिधि छनोट गर्नेहरूमध्ये तीन वर्षभित्र हजारौँ–हज्ाारले मृत्युवरण गरिसकेका छन्। त्यसर्थ ताजा जनादेश वर्तमानको सर्वाधिक सुन्दर विकल्प हुनसक्छ। अब हुने धाँधलीरहित निर्वाचनले मात्र नेपाली जनताको वास्तविक प्रतिनिधि चयन गर्ने आशा गर्न सकिन्छ। संविधानसभा खासखास पार्टीका खास नेताहरूको बन्धनमा पर्‍यो, सभासद्हरूले स्वतन्त्र भूमिका निर्वाह गर्न पाएनन्। पार्टीका नेताहरूको मुख ताक्ने र 'स्याल हुइँया गर्ने' भूमिका मात्र सभासद्हरूले निर्वाह गरे। हुन त त्यहाँ स्वतन्त्र भूमिका निर्वाह गर्न सक्ने योग्यताका मानिस दस प्रतिशत थिए या थिएनन् यो अध्ययन–अनुसन्धानको विषय हुनसक्छ। देशको संविधानमा पार्टीले आफ्नो विचार–दर्शन थोपर्न प्रयास गरेका कारण सभासद्, संविधानसभा र मुलुक अन्योलमा परेको यथार्थलाई बुझ्ने हो भने विद्यमान सन्तुलन र संरचनाको संविधानसभालाई अरू तीस वर्ष कार्यकाल थप गरिदिए पनि यसले देशकेन्द्रित लोकतान्त्रिक संविधान निर्माण गर्न नसक्ने निष्कर्ष निकाल्न सकिन्छ। प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नेमा सबै राजनीतिकर्मी केन्द्रित भइदिएका भए संविधान निर्माणका लागि वर्ष दिनको मात्र समय पनि पर्याप्त हुन सक्दथ्यो। तर, संविधानसभा प्रजातन्त्र र अधिनायकवादको विचार मन्थनको थलो बनेको छ। लोकतन्त्रवादीहरू बदलिन मिल्दै नमिल्ने, अधिनायकवादीहरू बदलिन चाहँदै नचाहने भएपछि जहिलेसम्म वर्तमान संविधानसभा रहन्छ त्यहीबेलासम्म विवाद र झमेला यथावत् रहन्छ भनेर बुझ्न सक्नुपर्छ। पाकिस्तानमा दुई वर्षका लागि गठित संविधानसभाको कार्यकाल थप गर्दै साढे सात वर्ष पूरा समय दिँदा पनि त्यसले संविधान निर्माण गर्न नसकेको र त्यस्तो संविधानसभालाई भङ्ग गरी नयाँ निर्वाचनमार्फत नयाँ संविधानसभाको गठन गरिएपछि डेढ वर्षभित्रै मुलुकलाई संविधान दिएको यहाँ स्मरणोचित छ। पाकिस्तानको संविधानसभामा वैचारिक एवम् दार्शनिक विभिन्नता थिएन, केही व्यावहारिक र प्राविधिक विषयमा मात्र समस्या थिए। हामीकहाँ एकथरी लोकतान्त्रिक संविधान निर्माण गर्न चाहने अर्काथरी साम्यवादी दर्शनमा उभिएर एकदलीय अधिनायकवादी चरित्रको संविधान बनाउन चाहने अवस्था जीवित रहिन्जेल संविधानसभाबाट संविधान बन्ने या जारी हुने आशा राख्नु व्यर्थ छ, व्यर्थ कुरामा आशा राखेर हामी सबैले भूल गरेका छौँ। एकपटक निश्चित कार्यकालका लागि भनी निर्वाचित निकायले आफूमा अन्तरनिहित शक्ति र अधिकारको दुरुपयोग गरी अनिश्चित कालसम्म अस्तित्वमा राख्नु प्राकृतिक, राजनीतिक, कानुनी, संवैधानिक र नैतिक हरेक दृष्टिले अनुपयुक्त छ। मनोविज्ञानको नियमअनुसार संवेदनाहरू सामान्य रहेको अवस्थामा लिइने निर्णय मात्र उपयुक्त र दिगो हुनसक्छ। सम्पूर्ण देशवासीलाई उत्तेजित तुल्याउँदै र समाजको एकतालाई गिजोल्दै, स्वयम् सभासद्हरूसमेत तनाव र अवाञ्छित विवादको भुमरीमा रहेर तयार गरिने दस्तावेज मुलुक, लोकतन्त्र र जनताको हितमा हुने कल्पना कदापि गर्न सकिँदैन। संविधानसभामा उत्पन्न सवा दुई सयभन्दा बढी विषयका विवादमध्ये अधिकांश विषयमा सहमति भएको र अब थोरै मात्र विषयका विवाद बाँकी रहेको दाबी प्रचण्ड–झलनाथ गठबन्धनका समर्थकको रहेको छ। तर, मिलेको भनिएका विषय अत्यन्त सामान्य प्रकृतिका थिए र समय गुजार्नका लागि मात्र झिनामसिना विषयमा विवाद पैदा गरिएका थिए भन्ने यथार्थलाई हामीले बुझ्नुपर्छ। कठिन, जटिल र संवेदनशील विषयमा त बहस प्रारम्भ नै भएको छैन। सङ्घीयता, राज्यको आन्तरिक संरचना, शासकीय स्वरूप, प्राकृतिक साधनको उपयोग र उपभोगलगायतका विषयमा जब बहस प्रारम्भ हुनेछ– त्यसपछि सबैलाई महसुस हुनेछ यो संविधानसभाले कहिल्यै पनि संविधान निर्माण गन सक्दैन भन्ने। त्यसैले, संविधान निर्माण गर्नै नसक्ने, निर्माण गरे पनि लोकतान्त्रिक मूल्य–मान्यतासहितको संविधान बनाउन नसक्ने र वर्तमान संविधानसभाले संविधान जारी गरेमा मुलुकमा दीर्घकालिक द्वन्द्वको आरम्भ हुने भएकोले यसको स्वाभाविक मृत्युवरण गराई नयाँ विकल्पमा जान दलहरूबीच सहमति हुनु आजको उपयोगी विकल्प र आवश्यकता हो। सहमति बनाउन सकिँदैन भने विद्यमान समस्या समाधानको एक मात्र अर्को विकल्प 'युद्ध' हो, सबै नेपाली युद्धका लागि तयार हुनुपर्छ। भीष्म पितामहहरू कौरवका पक्षमा नलाग्ने हो भने नेपाली महाभारत अठार दिन पनि नपुग्दै सत्यको विजय भएर टुङ्गिन सक्दछ। 
-घटना र विचार