स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

8:07:00 am

प्रचण्ड धुलिखेलमा

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं,एकीकृत माओवादी अध्यक्ष प्रचण्ड दुई दिनपछि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पार्न बुधबार धुलिखेल पुगेका छन् । बिहान १० बजेतिर धुलिखेल पुगेका प्रचण्ड त्यहाँको द्वारिका होटलमा बसेका छन् । उनी बिहीबार काठमाडौं र्फकने कार्यक्रम छ । 'पार्टीको आन्तरिक कामका लागि आउनुभएको हो, केन्द्रीय समितिको बैठकको तयारी पनि हुन्छ,' प्रचण्डका स्वकीयसचिव समीर दाहालले नयाँ पत्रिकासँग भने । प्रचण्डका साथमा पार्टीका पोलिटब्युरो सदस्य एवं ताम्सालिङ राज्यसमितिका इन्चार्ज अग्नि सापकोटा पनि छन् । राजनीतिक संकटमोचनको उपाय खोजी र भावी योजना निर्माण गर्न माओवादीले ७ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । दलहरूबीच राजनीतिक सहमति नबन्दा संविधानसभाको म्याद थप्ने विषयमा अन्योल भैरहेका वेला प्रमुख प्रतिपक्षी दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रचण्डले गतसाता सम्पन्न पोलिटब्युरो बैठकले लिएका निर्णय, त्यसपछि विकसित राजनीतिक घटनाक्रमका साथै दलहरूबीच भैरहेको वार्ताको प्रगतिबारे प्रस्तुतिकरण गर्नेछन् । 'तेस्रो जनआन्दोलन' समीक्षा र पार्टीले लिनुपर्ने भावी कार्ययोजना पनि प्रतिवेदनमा समेटिने स्रोतले बतायो । 'केन्द्रीय समिति बैठकमा पार्टीअध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ र त्यसलाई आवश्यकताअनुसार परिमार्जन गरेर अनुमोदन गरिनेछ,' माओवादीका एक पोलिटब्युरो सदस्यले बताए । माओवादीले गणतन्त्र दिवसका दिन संविधानको मस्यौदा सार्वजनिक गर्ने निर्णय गरेको छ । संविधानसभाको म्याद सकिने दिनको भोलिपल्टै १५ जेठमा 'जनताको संघीय गणतन्त्रात्मक संविधान' सार्वजनिक गर्ने निर्णय पार्टीले गरेको थियो । केन्द्रीय समिति बैठकले संविधानको मस्यौदालाई अन्तिम रूप दिई अनुमोदनसमेत गर्नेछ ।