स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:49:00 am

इराक पठाउने नेपाली गिरोह दुबईमा पक्राउ

सामग्री प्रस्तुति Ram Prasad Panta

-देवेन्द्र भट्टराई दोहा, मंसिर २० - असुरक्षित र प्रतिबन्धित गन्तव्य इराकमा नेपाली कामदार पठाउने नेपाली गिरोहको एउटा समूह संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पक्राउ परेको छ । दुबईबाट २ सय किलोमिटरभित्रको रासलखेमाका बस्तीमा इराक लैजान भनी ठीक पारिएका नेपाली कामदारसँगै उनीहरूलाई बिचल्ली बनाउने एजेन्ट पनि फेला परेका छन् । माओवादीको संयुक्त अरबस्थित भ्रातृ संगठन नेपाल जनप्रगतिशील मञ्चले फेला पारेर ल्याएको यो संजालको गिरोहमध्येका दुईको पासपोर्ट दूतावासले जफत गरेको छ । अबुधावीबाट पत्रकार जाकिर हुसैनले दिएको जानकारीमा गोरखा, पालुङटार घर भई हाल संयुक्त अरबमा कार्यरत दामोदर गिरी, शंकर बोगटी र नारायण लम्सालसमेतले आफूहरू मानव तस्करीको गिरोहमा रहेको मंगलबार अबुधावीमा आयोजित एक पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । लम्साल नेपाल टेलिभिजनमा प्रशारित हुने 'हेलो नेपाल' कार्यक्रमका लगानीकर्तासमेत हुन् । एजेन्टहरूले आफ्नो समूहबाट मात्रै दुई वर्षको अन्तरमा तीन सयभन्दा बढी नेपाली इराक गएको र प्रत्येकसँग बढीमा अढाई लाख रुपैयाँसम्म लिइने गरेको बताएका थिए । अबुधावीस्थित नेपाली राजदूत अर्जुनबहादुर थापाले भेटिएका पीडित कामदारलाई घर फिर्ता गर्ने र सम्बन्धित एजेन्टलाई कानुनी कारबाहीका लागि नेपाल पठाउने योजना रहेको जानकारी दिए । इराक मामिला पाकिस्तानस्थित नेपाली नियोगले हेर्ने भएकाले आफूले समस्या समाधानमा सीधा पहल गर्न नमिल्ने राजदूतको भनाइ थियो । एजेन्टले मानव तस्करी गिरोहमा संयुक्त अरबस्थित राजन खतिवडा, विष्णु पाण्डे -चितवन), तेज आचार्य, नरेन्द्र पौडेल -झापा), कृष्ण आचार्य, टेकराज भण्डारी -हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, विष्णु पाण्डेलगायतका व्यक्ति सक्रिय रहेको उल्लेख गरेका थिए । यस्तै नेपालमा दिनेश अर्याल, सुरेश पौडेल, गणेश कटवाल, नेत्रबहादुर थापा, शेरबहादुर थापा -पोखरा), राम कुंवर -चितवन), कृष्णबहादुर पुन -बागलुङ), क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतीश क्षेत्री, टेकबहादुर थापा, जोनी थापा, नारायण ढुंगाना, सुरेश पौडेल, शर्मिला घिसिङ, गणेश कटवाल -बर्दिया) लगायतका एजेन्ट रहेको पनि जानकारी दिइएको थियो । इराकमा भने टेकराज भण्डारी मानव तस्करीमा सक्रिय रहेको एजेन्टले बताएका थिए । पक्राउ परेका एजेन्टहरू लम्साल, बोगटी र गिरीले १० दिनभित्रमा सबैको लागत रकम र फिर्ती टिकट उपलब्ध गराउने कागज गरेका छन् ।