स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

7:03:00 am

ज्वानो प्रभावकारी ओखती

सामग्री प्रस्तुति Ram Prasad Panta

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ।
झट्टट्ट जिव्रोले स्वाद लिंदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्याधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छन्।
यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजबुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पुयाउँछन् । यसमा वाथनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ । धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ । खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको लागि यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुती ज्वरोमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीकासाथ यसको प्रयोग गरिन्छ । ज्वानोसंगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने मसलाहरूमा ज्वानोको दाना मसिनो हुन्छ । स्वाद पिरो, पर्पराउने र केहि मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइमा हुन्छ । खासगरी भारत, इजिप्ट र अल्जेरीया यसको खेतीको लागि प्रसिद्ध छन् । नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ । ज्वानो सानो र ठूलो गरी दुईप्रकारका हुन्छन् । विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ ।