स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:56:00 am

आपसी सम्बन्धमा गर्न नहुने गल्ती

सामग्री प्रस्तुति Ram Prasad Panta

गल्ती सबैबाट हुन्छ, तर एउटै गल्तीलाई बारम्बार दोहोर्‍याउनुको अर्थ आपसी सम्बन्धमा मतभेद र चिसोपन जन्माउनु हो । आपसी सम्बन्धलाई मजबुत राख्न समय -समयमा आफ्ना गल्तीमा विचार पुर्‍याउनुपर्छ, कारण यी गल्तीबाटै व्यक्तिले शिक्षा हासिल गर्छ ।

साथी परिवर्तन गर्ने गल्ती गर्नुहुँदैन

कुनै पनि व्यक्ति परफेक्ट हुँदैन । प्रायः जोडी के सोच्छन् भने यदि मेरो जीवनसाथी मलाई माया गर्छ भने मेरो खुसीका लागि ऊ किन परिवर्तन हुन सक्दैन ? जुन साना  कुराका लागि आफ्नो जीवनसाथीमा परिवर्तनको अपेक्षा राखिन्छ, ती कुरा तिनका लागि पनि सानै लाग्छ भन्ने छैन । यस्तो स्थितिमा यदि आफ्नो खुसीका लागि उसले  आफूलाई बदल्ने प्रयास गरे पनि उसको मनमा गलत कुराको बास बस्न थाल्छ । आफ्नाका लागि ऊ जबर्जस्ती परिवर्तन हुनुको अर्थ आफूले उसलाई आफ्नो  अनुकूलतामा ढाल्न खोजिदैछ भन्ने कुरा उसलाई लाग्छ र आफूले उसलाई माया गर्नुहुन्न भन्ने सोच उसमा विकसित हुन पुग्छ । आफ्नो चाहना पूर्ति गर्ने माध्यमका रु पमा उसलाई प्रयोग गरिँदै भन्ने सोचको विकासले आपसी सम्बन्धमा तित्तता जन्माउँछ ।

कम्युनिकेसन ग्याप

आफ्नो साथीलाई तपाईं कति बुझ्नुहुन्छ भन्ने कुराले ऊसितको सम्बन्धको सुमधुरता निश्चित गर्छ, तर यसको अर्थ यो पनि होइन कि हरेक समयमा उसको मन- मस्तिष्कलाई पढ्नु वा केही नै नभनी उसको आवश्यकतालाई बुझ्नु । आफ्ना साथीसित आफ्ना कुरा सेयर गर्नु र उसको कुरा सुन्नु अत्यन्त आवश्यक छ । यसबाट  दुवैलाई एक-अर्काप्रति सुविधा महसुस हुन्छ । कुरा बाँड्नाले आपसी प्रेम बढ्छ । कैयन् व्यक्ति आफ्नाबारेमा आफ्नो साथीले केही कुरा व्यक्त नगरी नै सबै कुरा बुझोस् र  त्यसैबाट उनको आफूप्रतिको लगाव र प्रेमको मूल्याङ्कन गर्छन् । यो सोच गलत हो । यसले आपसी सम्बन्धमा फाटो ल्याउँछ । कुराकानी तथा संवादबिना कुनै पनि  समस्याको समाधान सम्भव छैन ।

झगडालाई बानी बनाउनुहुँदैन

आपसी झगडा वा विवादलाई अधिकार व्यक्त गर्ने हतियारका रूपमा प्रयोग गर्ने गल्ती गर्नुहुँदैन । किनभने साथीलाई आफूअनुकूल नियन्त्रण गर्नु प्रेम होइन । यदि एक  जना साथी यसबाट आहत हुन्छ भने त्यो कसरी प्रेम हुनसक्छ ? आपसमा जतिसुकै मतभेद र झगडा भए पनि त्यसलाई बेडरुममा प्रवेश गर्न दिनुहुँदैन । सुत्नुपूर्व ती कुरा  सुल्झाउनु बुद्धिमानी हुन्छ । मनमा क्रोध राखेर एक-अर्काबाट  तर्केर अर्थात् विपरीत दिशामा फर्केर सुत्ने गल्ती गर्नु ठीक होइन ।

धन्यवाद र सरी भन्न विर्सनुहुँदैन

पार्टनरको आफूप्रतिको प्रशंसा, कुनै उपहार वा कुनै त्यस्तो काम जसका कारण आफूलाई खुसी प्राप्त भएको छ भने धन्यवाद शब्द अभिव्यक्त गर्नु आवश्यक हुन्छ । यसैगरी  आफूबाट कुनै गल्ती भए क्षमा माग्न पनि विर्सनुहुँदैन । क्षमा माग्नाले कुरा

बढ्न पाउँदैन र आफ्नो गल्ती स्वीकारिएको पनि प्रस्ट हुन्छ । धन्यवाद र क्षमा माग्दा आफ्नो आत्मसम्मानलाई ठेस पुग्नुहुँदैन ।

सम्झौतावादी बन्नुपर्छ

कुनै पनि सम्बन्धलाई कायम राख्न व्यक्ति संयमित र सम्झौतावादी बन्नु आवश्यक छ । एउटा स्वस्थ र बलियो सम्बन्धका लागि साथीको कुरालाई मान्नु, स्वीकार गर्नु  अत्यन्त आवश्यक छ । यदि मतभेद उत्पन्न भए, त्यसमा आपसी कुराकानीको माध्यमबाट समाधानको बाटो खोज्नु बुद्धिमानी हुन्छ । गल्ती चाहे जो कोहीबाट किन नहोस्  एक जना त झुक्नैपर्ने हुन्छ, तर यसमा सन्तुलन हुनुपर्छ, सधैँ एउटा पक्षले मात्र सम्झौता गर्नु र अर्को पक्षले जहिल्यै बाध्य बनाउनु  ठीक होइन ।

शारीरिक सम्बन्धलाई बेवास्ता गर्नुहुँदैन

आपसमा कुनै कुराका कारण विवाद भए पनि यौन सम्बन्धप्रति उदासीनता हुनुहुँदैन । कतिपय महिलाहरू आफ्नो कुरा मनाउन यौनलाई हतियारका रूपमा प्रयोग गर्छन् ।  यसो गर्नु ठूलो भूल हो । यौन आपसी प्रेम व्यक्त गर्ने उपाय हुनुका साथै एउटा आवश्यता पनि हो । यसलाई बेवास्ता गर्नुको अर्थ आपसी सम्बन्धमा दूरी बढाउनु हो । यो  आत्मीय क्षणमै आपसी मतभेद, तिक्तता आदिलाई भुल्न सकिन्छ र नयाँ सुरुवातका लागि तयार हुन सकिन्छ ।

शंका गर्नुहुँदैन

आफ्नो साथीमाथि विश्वास गर्न सिक्नुपर्छ । हरेक कुरामा शंका गर्नु वा एक-अर्काको मिनेट मिनेटको प्रतिवेदन लिनाले आपसी सम्बन्धमा दूरी बढ्छ । यदि साथीले कुनै  महिला वा पुरुषको कुरा गर्दैछ भने त्यसमा बिनाकारण शंका गर्नुहुँदैन । यदि मनमा संशय उठ्छ भने त्यसलाई अप्रत्यक्ष रूपमा सोध्नुपर्छ । आफ्नो मनमा कुनै शंका  जन्माउनुभन्दा कुरा बुझ्नु उचित हुन्छ । वैवाहिक जीवनको आधार नै आपसी विश्वास भएकाले यसमा शंकारूपी मन्द विषलाई प्रवेशको बाटो दिनुहुँदैन ।