स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:23:00 pm

माटोको साथ पाएर नेपालको उत्कृष्ट प्रदर्शन

सामग्री प्रस्तुति Ram Prasad Panta

९ गोल खाने नेपाली टोलीको पक्षमा दर्शकहरुले बिहीबार दशरथ रंगशालामा अन्तिम समयसम्म पनि उत्साहजनक हुटिङ गरिरहे। नेपाली टोली के कम। आफ्ना दर्शक, आफ्नो भूमि ! जोर्डनलाई पेलेको पेल्यै गर्‍यो। पहिलो हाफसम्मको खेल पूरै नेपालको पक्षमा रह्यो; भलै नेपाली खेलाडीले गोल भने गर्न सकिरहेका थिएनन्। ४५ मिनेटसम्म खेल हेर्दा यस्तो लाग्थ्यो- यो जाबो जोर्डनी टोलीसँग नेपालले कसरी ९ गोल खायो होला ?सायद नेपाली टोली नेपाली आफ्नो माटोमा बढी शक्तिशाली अनुभव गर्छ। त्यही भएर अम्मानको रंगशालामा ९ गोल खाएको हो कि ! खेलको समाप्तिपछि नेपाली टोलीका कप्तान सागर थापाले त्यस्तै अभिव्यक्ति दिए। सञ्चारकर्मीलाई भने- ‘हामीले मात्र देशको माटो चिन्ने होइन यहाँको माटोले पनि हामीलाई चिन्छ। यहाँ दर्शकको समर्थन हाम्रा लागि अपार छ। यहाँ खेल्दा हामीलाई थकाइको अनुभव नै हुँदैन।’
९ गोल खाएर फर्किएको टोलीलाई साथ दिने दर्शकहरुप्रति कप्तान थापा सद्भाव उत्साहजनक छ। ‘हामी हाम्रा सवै समर्थकलाई सलाम गर्न चाहन्छौ। हामी यहाँ सधै उहाँहरुकै उत्साह र प्रेरणामा उहाँहरुकै लागि खेल्छौ।’
हुन पनि नेपाली दर्शकहरुको अपार समर्थनमा मैदानमा उत्रिएको टोलीले फिफा बरियतामा ९१ औं स्थानमा रहेको जोर्डनलाई सुरुदेखि नै दवाबमा राखेको थियो। राम्रो खेल्ने तर गोल गर्न नसक्ने हाम्रो रोग बिहीबारको खेलमा पनि प्रस्टसँग देखियो। नेपाली टोलीका वेलायती प्रशिक्षक ग्राहम रोबर्ट एकजना ‘कन्भिक्सन’ भएका व्यक्ति हुन्। खेल सुरु हुनुअघि नागरिकन्युजका लागि सोधिएको प्रश्नमा उनले भनेका थिए- ‘९ गोल खाँदैमा जोर्डन हराउनै नसकिने टोली भने हैन, त्यो हारको जिम्मेवारी म लिन्छु। र हामी बदला लिन चाहन्छौं।’
मध्यान्तरमा भिषण वर्षाले मैदान हिलाम्मे बनाएपछि सुरु भएको खेलमा जोर्डनी टोली सम्हालिएर आक्रमक बनेको थियो। ६२ औं मिनेटमा जोर्डनका हसन अल्मुले एक गोल गर्दा हजारौं नेपाली दर्शक स्तब्ध भएका थिए। रंगशाला एकछिन सुनसान बन्यो। जोर्डनको अग्रता सँगै नेपाल आक्रमक बन्यो र स्तब्धता चिर्दै ८० औं मिनेटमा नेपालका भरत खवासले शानदार गोल गरे। ९ गोल खाएको समाचार पढेका घरेलु दर्शक घर फर्किंदा स्कोरबोर्डमा लेखिएको थियो- नेपाल १-जोर्डन १।