समाचारको स्रोत र स्रोत खुलेको समाचार- यी दुवै विषयको संवेदनशीलता
- ध्रुवहरि अधिकारी
'पत्रकार- सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य-तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्पे्रषण गर्नुपर्दछ ।'प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको आचार संहितामा समावेश भएको यस मार्गदर्शनको पालना नेपालका समाचारमाध्यमबाट भैरहेको छ त ? समाचारका सजग उपभोक्ताले यस प्रश्नको उत्तर सकारात्मक शब्दावलीमा दिन हच्किने अवस्था छ । किनभने 'स्थापित' मानिएका ठूला आकारका छापा र ठूलो लगानीमा सञ्चालित प्रसारण माध्यमसमेत पत्रकारिताका मूल्य, मान्यता, मर्यादा र मापदण्डको सम्बन्धमा उदासीन रहन्छन् भने साधन-स्रोत हिसाबले टाक्सिएका, सानो लगानीका माध्यमको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । यो नेपाली लोकोक्ति रोगव्याधिको उपचारमा संलग्न चिकित्सक समुदायको लागि त सान्दर्भिक छ नै, त्यसको साथसाथै वैद्य -उपचारक) को थर कायम राखेर नेपालको पत्रकारितामा हात हाल्ने व्यक्तिको हकमा पनि लागू हुँदोरहेछ । साप्ताहिक-पाक्षिक पत्रिका सञ्जालको २३ भाद्रको बैठकले 'विमर्श' का चर्चित वैद्यमाथि गरेको कारबाहीलाई नै यस प्रसंगको ताजा दृष्टान्त मान्न सकिन्छ । कपोलपल्पित र झूटो समाचार लेखी लामो समयदेखि पत्रकारिताको मूल्य मान्यता र मर्यादा विपरीत कार्य गरेको हुनाले उपचारक निष्कासनमा परेका रहेछन् । विमर्शबाट थालिएको यस अभियानलाई सञ्जालले निरन्तरता दियो भने नेपालको समसामयिक पत्रकारितामा बाक्लो हुँदै आएको विकृतिको तुवाँलो पन्छिँदै जान सक्छ । यतिसम्मको पाठक वर्गको अपेक्षा समसामयिक नै मानिएला ।चिकित्सको मामिला वैद्य, कविराज र हकिममा सीमित नरहेर आधुनिक पद्धतिबाट उपचार गर्ने डाक्टरहरुको ठूलो समुदायमा विस्तारित भएझैं, पत्रकारिताका मापदण्ड र मर्यादासमेतका विषयहरु साप्ताहिक र पाक्षिक पत्रपत्रिकाको साँगुरो घेरामा रुमल्लिएर बस्न सक्दैनन् । परिस्थिति बिगार्ने र पत्रकारिताको सेवा पक्ष एवं विश्वसनीयतालाई प्रश्न चिन्हमा पारिदिने अवस्था सिर्जना गर्नमा दैनिक निस्कने अखबार, सयकडौंको संख्यामा खुलेका एफएम रेडियो र दर्जनको गन्तीमा पुग्न लागेका टेलिभिजन सञ्जालको भूमिका बढी जिम्मेवार भएको टड्कारै देख्न सकिन्छ । दिनहुँ देख्ने, सुन्ने, पढ्ने माध्यम भएकोले मुद्रण, प्रसारण दुवैतर्फका माध्यमबाट गरिने पत्रकारिताको वृत्ति, प्रवृत्ति ठम्याउन खर्चिला अध्ययन अथवा शोध-अनुसन्धान गरिरहनु पर्दैन, उपभोक्ता समूहले दिनदिनै लेखाजोखा गर्न सक्छ, गरिरहेको पनि छ । प्राज्ञिक प्रयोजनका लागि र्सर्वेक्षण, अन्वेषण, विश्लेषणको महत्व पेशेवर पत्रकारका लागि हुन्छ नै, यो विवादको बुँदा भएन । यसले आफ्नो कार्य क्षेत्रमा अझै झांगिन पाउनुपर्दछ ।कुनै अखबार, रेडियो अथवा टेलिभिजनलाई राजनीतिक दल विशेषको लगानीमा वा प्रभावको माध्यमबाट आफ्नो निर्देशनमा सञ्चालन गर्ने परिपाटीको थालनीयता पत्रकारिता 'पर्चाकारिता' मा रुपान्तरण हुन लागेको सार्वजनिक अनुभव छ । यसमा पनि दल विशेषको आडमा मुखपत्रझैं सञ्चालित समाचार माध्यमले स्वतन्त्र पत्रकारिताको हैसियतबाट नाम, सहुलियत र सम्मानको उपयोग गरिदिन थालेपछि विकृति, विसंगति सीधै दृष्टिगोचर भएका हुन् । यसरी एकातिर पर्चाकारिताको शैलीमा हुने पत्रकारिताले प्रोपगण्डा संयन्त्रको काम गरी आम नागरिकलाई भ्रमित तुल्याएको छ भने अर्कोतिर नाफाको व्यापारको रुपमा पत्रकारिता गर्ने प्रकाशनगृहहरु विज्ञापन-प्रभावित व्यवसाय हुँदै आएका छन् । होडबाजी यसैमा तीव्र देखिन्छ । 'चोरबाटो' बाट छिरेको मानिएको विदेशी लगानीबाट सञ्चालित समाचार माध्यमहरुका कार्यसूचीमा नेपाली पाठक, नेपाली श्रोता र नेपाली दर्शकको हित-भलो हुने कुरा त त्यसै पनि आएन । उसै पनि भएन ।समाचारको औसत उपभोक्ता कुहिरोका काग हुन पुगेका छन् । तिनले कुनै पनि घटना वा विषयबारे साँचो खबर पाउन एउटा छापा पढेर पुग्दैन । आधा दर्जन अखबार अगाडि राखेर तुलना गर्दै पढ्दै गर्न सके मात्र तथ्यको नजिक पुग्न सक्छन् । त्यति गरेपछि पनि पाएको सूचना तथ्य-सत्य नै हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । विश्वसनीयताको सन्दर्भमा प्रसारणका माध्यम पनि भरपर्दा हुन सकेका छैनन् । एउटा टेलिभिजन प्रसारण संस्थाले राजा ज्ञानेन्द्रले दरबार छोड्नुभन्दा केहीदिन अगावै 'आधा रातमा राजाले दरबार छोडे' भन्ने खबर दियो । खबर गलत भएको जानकारी तत्कालै त्यस बखतका गृहमन्त्रीले दिए तर सम्बन्धित संस्थाले गलत प्रसारणको खण्डन गरी दर्शकसित क्षमायाचना गरेन । एउटा दैनिक अखबारले त त्यतिखेर राजाले दरबार नछोडेको भएपनि पाइतो सारेको त पक्कै हो भनेर पाठकहरुलाई हँसायो । जसले राजनीतिक दलको पकडमा पत्रकारिता गरेको छैन र जसले नाफाको ध्याउन्नले मात्र पत्रकारिता गरेका होइनन् ती समाचार माध्यमहरुले निश्चय नै पनि सेवाभावका साथ मात्र पत्रकारिता गरिरहेका होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर यथार्थ यो पनि नहुन सक्छ । किनभने एकथरी माध्यम विदेशी दूतावासका प्रभावमा सञ्चालित हुने गरेको आम अवधारणा छ । यस्तो अवधारणाको आधार ती माध्यमले मुद्रण-प्रसारण गर्ने समाचार तथा अन्य सामग्री हुन् । तिनको माध्यबाट प्रवाहित हुने विज्ञापन र प्रायोजित पृष्ठ-सामग्रीले अन्तर्निहित सन्देश प्रवाह गरिरहेका हुन्छन् । महात्मा गान्धीको नाममा खुलेको छात्रवृत्तिको लागि दरखास्त आह्वान गर्दै दूतावासबाट वितरण गरिएका विज्ञापन पाउने र नपाउने समाचार माध्यमको प्रस्तुति दाँजेर हेर्नासाथ परिस्थिति सहजै लख काट्न सकिन्छ । समाचारको सजग उपभोक्ताले यी र यस्ता अवाञ्छित प्रयोग र प्रवृत्ति ठम्याउन समय लगाउँदैनन् । यसको ताजा उदाहरण सूर्यनाथ उपाध्यायको नामबाट एक दैनिक पत्रिकामा भाद्र २५ गते प्रकाशित टिप्पणी हुन सक्दछ । समाचारको चयन र प्रभाव शीर्षकमा छापिएको त्यस टिप्पणीको पुछारतिर परेको यो वाक्य अहिलेको प्रसंगमा विचारणीय छ ः 'कुनै देशको दूतावासले भनेर विज्ञापन बन्द गराइदेला भन्ने दबाबमा देशको भलोको लागि लेख्नुपर्ने समाचार दबिएर जानु दुर्भाग्यपूर्ण कुरा हो '।पत्रकारिताको आवरणमा कि स्वदेशको राजनीति कि विदेशको कूटनीति सञ्चालन गर्न सघाउ पुर्याउनेहरुले पत्रकारिताका स्वीकृत मान्यता, मापदण्ड र मर्यादाको पालना गरिरहेका छैनन् । नाफाको लागि पत्रकारिताको माध्यमबाट व्यापार-धन्दा चलाउनेहरुको उद्देश्य पनि मर्यादा, मान्यताबारे चिन्ता लिने किसिमको भएको देखिँदैन । उल्लिखित तीनवटा श्रेणीमा नपर्ने र कुनै गैरसरकारी संस्था (आई-एनजीओ) को संरक्षण पनि नपाएका समाचार माध्यम कुनै होलान् त र भए कति होलान् ? जेजति होलान् तिनलाई अन्य श्रेणीमा परिसकेकाले टिक्न देलान् ? संविधानले नेपाली नागरिकलाई दिएको सूचनाको हक प्रचलन गराउने मूल उद्देश्य राखी प्रसारण वा मुद्रण जुन माध्यमबाट भए पनि पत्रकारिता गर्र्छौं भनेर लागि पर्नेको भविष्य छ त यस मुलुकमा ? यो एउटा समसामयिक र पेचिलो प्रश्न हो । र, पत्रकारिताबाट पर्नसक्ने दुष्प्रभावबाट सिंगो देश र यसका सम्पूर्ण बासिन्दालाई जोगाउने कि नजोगाउने भन्ने अहम् प्रश्नसित जोडिएको छ ।यस आलेखको थालनीमै उल्लेख गरिएको उखानले औंल्याएको परिस्थितिमा परेको नेपालको पत्रकारिताले गुण, मात्रा र पाक नमिलेको औषधिले बिरामीको भलो गर्न नसकेझैं नेपालका पाठक, श्रोता र दर्शकमा सकारात्मक र सिर्जनात्मक छाप छोड्न सकेको छैन । आफ्नो अज्ञानले होस् अथवा रोजगारदाताको दबाबले होस्, सबैले सञ्चारकर्मीले आफ्नो पेशागत कर्तव्यको निर्वाह गरिरहेका छैनन् । आफू भ्रममा वा दबाब-प्रभावमा छु भनेर जान्दाजान्दै पनि पाठक, श्रोता र दर्शकलाई आफ्नो प्रभावमा पार्ने घृणित कार्य गरिरहेका छन् । तिनबाट पत्रकारका आचार संहिता र पत्रकारिताका स्वीकृत सिद्धान्त तथा प्रक्रियाप्रति सरासर उपेक्षाभाव प्रकट भैरहेको छ ।पत्रकारितालाई चिकित्सा जस्तै जिम्मेवार कार्यक्षेत्रसित तुलना गर्ने क्रममा अमेरिकी पत्रकारिताका विशिष्ट व्यक्तित्व वाल्टर लिप्म्यान -सन् १८८९-१९७४)ले एक ठाउँमा एउटा गम्भीर प्रश्न उठाएका छन् ः एउटा बिरामीको उपचार गर्ने शल्य चिकित्सक (सर्जन) हुन के कस्तो योग्यता आश्यक पर्छ ? एउटा न्यूनतम् विशेष तालिम चाहिन्छ नै । अब यता हेरौं, दिनदिनै सिंगो राष्ट्रको मुटु र मस्तिष्कको चिरफार गर्ने (समाचार प्रक्षेपणजस्तो) कामको निम्ति के योग्यता तोकिएका छन् त ? कुनै पनि देखिँदैनन् ।सन् १९२० मा प्रकाशित -सन् २००८ मा पुनर्'द्रित) लिप्म्यानको पुस्तक 'लिबर्टी एन्ड द न्युज'मा परेको प्रश्नोत्तर शैलीको यस उद्धरणले पत्रकारिताका कतिपय पक्षलाई एकसाथ सम्बोधन गरिनुपर्ने मौलिक जिज्ञासालाई रोचक किसिम तर गम्भीर ढंगले समेटेको छ । लिप्म्यानले यस कथनको विवेचना गर्ने क्रममा प्रशिक्षण अथवा तालिमको अभावमा एउटा संवाददाता 'अप्रशिक्षित सिकारु' -UNTRAINED AMATEUR_ मात्र रहन जान्छ र नियत सफा हुँदाहुँदै पनि सीपको अभावमा तथ्य-सत्य संकलनको काममा 'इमानदार प्रयत्न' सम्म पनि गर्न सक्दैन । घटना एक ठाउँमा हुन्छ र त्यसको जानकारी अर्को ठाउँमा बस्ने पाठकलाई चाहिएको हुन्छ । यसमा हलकाराको काम गर्ने पत्रकारसित सीप र सावधानी भैदिएन भने पाठकले घटनाबारे सत्य-तथ्य जान्न पाउँदैन । र, समाचार पढेपछि उसको मस्तिष्कमा जन्मिने विचार आलोकाँचो वा अपरिपक्व हुन पुग्दछ र त्यसको परिणाम हानिकारक हुन सक्छ ।यहीँनेर आएपछि सूचना वा समाचारको स्रोतको सन्दर्भ आउँछ । स्रोत जुन प्रकृति र स्तरको छ समाचारको विश्वसनीयता त्यसकै अनुपातमा स्थापित हुन्छ, समाचार ग्रहण योग्य बन्छ । यसै कारणले समाचारमा स्रोतको उल्लेख गर्ने मान्यता विकसित भएको हो । र, त्यही शाश्वत मान्यता पे्रस काउन्सिल नेपालका प्रकाशनहरुमा मुद्रण भएको हो । पत्रकारिताको विद्यार्थी छँदा र पछि प्रशिक्षण कार्यमा संलग्न हुँदा यस पंक्तिका लेखकले स्रोतसम्बन्धी अवधारणा र मान्यताको महत्व ठम्याउँदै आएको हो । तर दुःखको कुरो, २०४६ सालपछि आएको खुला वातावरणमा जन्मे-हुर्केका समाचार माध्यमहरुले २०६५ सालको पूर्वार्द्धमा आइपुग्दासम्म पनि 'स्रोत' समाचारको विश्वसनीयतासित सीधा गाँसिएको पक्ष हो भनेर यथोचित सावधानी अपनाउन सिकेनन् । प्रस्तुत गरिएको समाचारको स्रोत के हो वा को हो भनेर खुलाउनुको साटो खालि 'स्रोतले बताएको छ' भन्ने थेगो समातेर फुर्सद लिन खोजेको देखिन्छ, सुनिन्छ । हो, कुनै-कुनै अवस्थामा गोप्य जानकारी दिने सूत्रको परिचय खुलाउन मिल्दैन, तर त्यो अपवाद हो । अपवादलाई नियम वा नियमित आधार मान्न मिल्दैन । परन्तु पत्रकारिताको सामान्य ज्ञान र प्रशिक्षण नपाएका युवकयुवतीलाई एकैपल्ट सम्पादक नियुक्त गरिदिएपछि स्रोतको उल्लेख नै नगरिकन 'स्रोतले बताएको छ' भन्ने अविश्वसनीय तरिका हावी हुनु अपरिहार्य हुन जान्छ । मुहान धमिलिएपछि पाइपबाट घरघरमा पुगेको पानी धमिलिनु, प्रदूषित हुनु सामान्य परिणति हो । धमिलिएको पानी पिएपछि पेटको रोग लाग्ने नै भयो । र, बेलामा भरपर्दो उपचार भएन भने बिरामीको ज्यान जाने नै भयो । त्यसै कारण सूचनाको स्रोतलाई सधैं सङ्लो र पारदर्शी गराउनु आवश्यक भएको हो । अमेरिकी पत्रकार वाल्टर लिप्म्यानको आशयलाई यसै पर्रि्रेक्ष्यमा बुझ्नुपर्दछ ।समाचारको स्रोत र स्रोत प्रयोगको विधि र मान्यताको उपेक्षा गर्दा माथि भनिएझैं विश्वसनीयतामा बट्टा लाग्छ । स्रोतको उपेक्षा हुँदा पाठक अन्योल र द्विविधामा पर्छन् । रहस्यको गाँठो खुकुलो हुनुभन्दा झन् जटिल हुन पुग्छ । पाठकले आफ्नो जिज्ञाशा शान्त भएको अनुभूति गर्नुको साटो प्रश्न र जिज्ञासा थपिँदै गएको अनुभव गर्छन् । कतिपय मामिलामा त एउटा देशको अर्को देशसितको सम्बन्धमै अनाहक प्रतिकुल असर पर्नसक्छ ।यस्तो अवस्थाको झलक दिने दृष्टान्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहिलो विदेश यात्राकै विषय हुन सक्छ । ओलम्पिक खेलकुदको समापन समारोह भ्याउने हिसाबले नवनियुक्त नेपाली प्रधानमन्त्री बेइजिङ पुगेको घटनाक्रम जग-जाहेर छ । त्यहाँ रहँदा प्रचण्डले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसित भेटवार्ता गर्नु र त्यसबाट नेपाल-चीन सम्बन्धलाई टेवा पुर्याउने कार्य गर्नु सर्वथा स्वाभाविक प्रक्रिया हो । त्यसै बखत यता काठमाडांैमा 'कान्तिपुर' दैनिकले पहिलो पृष्ठमा ठूलो शीर्षकसहितको समाचार छाप्यो 'चीन भ्रमणप्रति भारत असन्तुष्ट' भनेर । नयाँ दिल्लीमा संवाददाता राख्ने हैसियत भएको नेपालको एक मात्र त्यस छापामा भाद्र ११ गते प्रकाशित सो समाचार त्यसै संस्थाको रेडियो र टेलिभिजनले पनि महत्वका साथ प्रसारण गरे । पहिले छापामा निस्कने अनि त्यही खबर रेडियो र टेलिभिजनले पनि ठूलो स्वरका साथ घन्काइदिने भएपछि एउटै संस्थाले पनि समाजमा ठूलै हलचल भएको अनुभव गराइदिँदो रहेछ । गरायो ।चर्चित समाचारको पेटबोलीमा प्रवेश गरेपछि थाहा हुन्छ- त्यस समाचारको स्रोत भने सारै कमजोर रहेछ । शून्यबराबर । यो टुंगोमा पुग्न यही एउटा वाक्य पर्याप्त होला ः 'प्रधानमन्त्री मनमोहन)सिंह मात्र होइन सम्पूर्ण भारत सरकार खुसी छैन, स्रोतले भन्यो।' परिचय नखुल्ने, दर्जा नकिटिने र पर्दाभित्र रहेर बोल्ने 'स्रोत' को हवाला दिएर दुइ देशको सम्बन्धमै कटुता आउने कुरा लेख्न, छाप्न हुन्छ - संवाददाताले त्यस्तो टिप्पणी गर्ने स्रोतसित तिमी आफ्नो परिचय दिन चाहँदैनौ भने मैले यो समाचार लेख्न मिल्दैन भनी पेशागत जिम्मेवारीमा अड्न सक्नुपर्दथ्यो । र, त्यस्तो समाचार लेखेर नेपाल पठाउनु हुँदैनथ्यो । यता त्यो समाचार आइहाले पनि अंग नपुगेको र अधुरो सूचना समाचारको मापदण्डमा पर्दैन भनेर 'कान्तिपुर'का सम्पादकले छाप्नु हुँदैनथ्यो । 'जे आयो त्यही छापियो' भनेर फुर्सद लिन पाउने व्यक्ति होइन सम्पादक भनेको । उसको दायित्व सामान्य संवाददाताको भन्दा धेरै गुणा बढी हुन्छ ।समाचार लेखन, सम्पादन र प्रकाशन-प्रसारणका आफ्नै विधि र तरिका हुन्छन् । परिपाटी बसेको छ, परम्परा पनि निर्माण भएको छ । प्रचलन र मान्यताका पक्ष आफ्ना ठाउँमा छन् । यस पृष्ठभूमिमा, प्राप्त जानकारी टिप्पणी प्रतिक्रियाहरु सरोकारवाला व्यक्ति, संस्थानसँग रुजु गरेर, भिडाएर र पुष्टि गराएर मात्र प्रयोग गर्नुपर्छ । अर्थात् सूचनाको आधिकारिकता स्थापित भैसकेपछि मात्र समाचार छाप्नु, प्रसारण गर्नुपर्छ। प्रतिक्रिया दिने व्यक्ति, उसको दर्जा र संस्था खुलाउन नसकिने अवस्थामा त्यो सूचना वा समाचार सार्वजनिक गरिनु हुन्न । चर्चित समाचारमा दिल्लीमा बस्ने संवाददाताले विदेश मन्त्रालयको सचिव फलानो वा प्रवक्ता एउटा मात्र भए निजको नाम नदिए पनि हुन्छ) को उल्लेख गरेर मात्र प्रचण्डको चीन भ्रमणप्रति 'भारत असन्तुष्ट' भनी खबर दिन मिल्थ्यो । तर दिल्लीको खबरमा त्यस्तो आधार छैन ।तसर्थ त्यो विश्वसनीय खबर भएन र समाचारको रुपमा लिन सकिने विवरण ठहरिँदैन । बरु यसको साटो भारतका केही छापाहरुमा प्रकाशित समाचार र सम्पादकीय टिप्पणी पढ्दा नयाँ दिल्ली प्रचण्डको चीन यात्राप्रति सन्तुष्ट नभएको पाइयो भनेर खबर लेख्न हुन्थ्यो । र, पत्रपत्रिकामा निस्केका टिप्पणीबारे विदेश मन्त्रालयको प्रतिक्रिया लिन खोज्दा प्रवक्ता फलानोले यस्तो भने वा टिप्पणी गर्न चाहेनन् भनेर समाचारमा जनाउन सक्दथेे । तर विवेच्य समाचारमा त्यस किसिमकोे प्रयास भएको देखिँदैन र काठमाडौंमा बस्ने सम्पादकले पनि यस विषयमा उचित ध्यान दिएको पाइँदैन ।विश्वप्रसिद्ध समाचार संस्था रोयटर्सको नेपाल संवाददाता भै काम गर्दाको अनुभवले 'स्रोत' सम्बन्धी मान्यताबारे मलाई बढी चनाखो तुल्यायो । समाचार बासी हुनु हँुदैन र समाचारको स्रोत स्पष्ट र भरपर्दो हुनु अनिवार्य छ भन्ने दुइ कुरा दुइटा मन्त्र हुनुपर्छ भनेर सम्पादकहरुले बेलाबेलमा सचेत गराउँथे । मान्यता आज पनि त्यही नै हो । तर यसै कुरामा चाहिँ धेरैजसो समाचार माध्यमहरुको ध्यान पुग्ने गरेको देखिँदैन । फलस्वरुप विश्वसनीयता दिनदिनै स्खलित भैरहेको छ ।अब हेरौं 'कान्तिपुर'को यसै सम्बन्धी अर्को समाचार सामग्री । कोशीको तटबन्ध फुट्नाले भएको जनधनको क्षतिको पृष्ठमूमिमा विमस्टेक क्षेत्रीय सम्मेलनको अवसर पारेर नयाँ दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री उपेन्द्र यादव भाद्र १२-१६) ले भारतीय नेता एवं अधिकारीहरुसित गरेको भेटवार्ताबारे भाद्र १९ मा प्रकाशित 'दिल्ली डायरी' पनि समाचार सामग्रीमा प्रयोग भएका सूचनाको स्रोत खुलाउने मामिलामा दोषमुक्त रहेको देखिँदैन । जस्तो, एक ठाउँमा सन्धि असमान् भएको कारणले होइन कि पुरानो भएको कारणले पुनरावलोकन आवश्यक परेको हो भनेर नेपालको अवधारणा आओस् भन्ने दिल्लीको अपेक्षाको चर्चा भएको छ । र, त्यो मन्तव्य 'नेपालमा काम गरिसकेका एक पूर्वभारतीय कूटनीतिज्ञ' को रहेछ । तर संवाददाताले हाल बहालमा नै नरहेका ती कूटनीतिज्ञको नामसमेत खुलाएका छैनन् । अनि कसरी स्थापित हुने समाचारको विश्वसनीयता ?चर्चित समाचारको विश्वसनीयताप्रति शंका उब्जिने आधारको उल्लेख 'कान्तिपुर' संवाददाता आफैंले अन्तिम अनुच्छेदमा गरेका छन् ः 'कसरी यस्ता समाचार प्रकाशन-प्रसारण हुन्छन्, विदेश मन्त्रालयले प्लान्ट गरेको हुन सक्छ,' भनेर एक वरिष्ठ भारतीय पत्रकारले भनेको कुरा राखिएको छ । यहाँनेर आइपुग्दा बेलाबखत भारतको विदेश मन्त्रालयले समाचार 'प्लान्ट' -रोप्ने काम) गराउँदो रहेछ र कोशी बाँध फुटेको विषयमा त्यसैगरी काल्पनिक ढंगले समाचार बनाइएको हुन सक्छ भन्ने निष्कर्ष निस्कन्छ । किनभने उपेन्द्र यादवले समयमा बाँध मर्मत नभएकोले कोशीको पानीले विनाश गर्यो भनिरहेकै बेलामा 'मन्त्री यादवद्वारा नेपालको गल्ती स्वीकार...' भन्ने शीर्षकमा टाइम्स अफ् इन्डियाले समाचार प्रकाशित गरेछ । यसै कुरालाई लक्ष्य गरी विदेश मन्त्रालयले खबर 'प्लान्ट' गरेको अनुमान कान्तिपुर संवाददाताले गरेको देखिन्छ ।अब स्वतः प्रश्न उठ्छ- समाचार 'प्लान्ट' गराउन सिपालु विदेश मन्त्रालयका कर्मचारीले कान्तिपुर संवाददाताले भेउ नै नपाउने गरी तर उनैमार्फत् बेलाबखत आफूले चाहेको समाचार 'कान्तिपुर' मा पनि 'प्लान्ट' गराएका छैनन ।
( साभारः नेपालीपोष्ट डटकमबाट तर सामग्री पठाई दिनु भएकोमा मित्र मोहन बश्यलजी लागि आभार प्रकट गर्छु . )
Comments