स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

7:10:00 am

नेपाली राष्ट्रिय टोलीको घोषणा

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा सहायक प्रशिक्ष्ाक उपेन्द्रमान सिंह र बालगोपाल महर्जनले २५ सदस्यीय टोलीको छनोट गरेका हुन् । डिफेन्डर राकेश श्रेष्ठको नेतृत्वमा रहने टोलीको गोलरक्षकमा रितेश थापा, विकास मल्ल र समित राजभण्डारी रहेका छन् । यसैगरी, अन्य डिफेन्डरमा अन्जन केसी, लोकबन्धु गुरुङ, विराज महर्जन, सागर थापा, सुमन सुवेदी, चुनबहादुर थापा, रविन श्रेष्ठ र विकास सिंह क्षेत्री रहेका छन् । मिडफिल्डका लागि विजय गुरुङ, विसन गौचन, नीराजन खड्का, भोला सिलवाल, अनन्तराज थापा, पर्वत पाण्डे, रञ्जित श्रेष्ठ, राजु तामाङ र सन्दीप राई छन् । यसैगरी फरवार्डमा सन्तोष साहुखल, युगलकिशोर राई र नीराजन रायमाझी छन् । 'हाम्रो अवस्था, म्याचको नेचर र समूहका प्रतिद्वन्द्वीअनुसार खेलाडी छनोट गरेका छौं,' प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'खेलाडीको अनुभव, नेतृत्वक्षमता र पर्सनालिटीलाई पनि छनोटको आधार बनाइएको छ ।' प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, यसअघिका खेलमा गरेको प्रदर्शनलाई पनि छनोटको आधार बनाइएको श्रेष्ठले जानकारी दिए । 'हाम्रो लक्ष्य समूहबाट अगाडि बढ्नु रहेकाले सोहीअनुसार फाइटिङ स्पिरिटका खेलाडीलाई टोलीमा समावेश गरेका छौं,' श्रेष्ठले बताए, 'कठिन भए पनि समूह चरण पार गर्न सक्ने क्षमता टोलीसँग छ ।' छनोट भएका २५ खेलाडीसहितको नेपाली टोली २१ जुलाईमा कोलकाता प्रस्थान गर्नेछ । जहाँ नेपाली टोलीले दुई अभ्यास म्याच खेल्ने तयारी भइरहेको छ । २२ जुलाईमा इस्टबंगालविरुद्ध र २६ जुलाईमा चिराग फुटबल टोलीविरुद्ध नेपाली टोलीले अभ्यास खेल खेल्नेछ । 'अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा अन्तिम २३ खेलाडीको छनोट गरिनेछ,' प्रशिक्षक श्रेष्ठले जानकारी दिए । दुई खेलाडी भने त्यहीँबाट नेपाल र्फकने छन् । नेपाली राष्ट्रिय टोली दुई अभ्यास खेलपछि २८ जुलाईमा हैदरावाद प्रस्थान गर्नेछ । दुई समूहमा विभाजन गरी सञ्चालन हुन लागेको प्रतियोगिताको अन्तिम चरणमा नेपाल समूह 'बी'मा रहेको छ । सो समूहमा उत्तरकोरिया, म्यान्मार र श्रीलंका रहेका छन् । हैदरावादमा नेपाली टोलीले पहिलो खेल ३१ जुलाईमा म्यान्मारविरुद्ध खेल्नेछ । २ अगस्टमा उत्तरकोरिया र ४ अगस्टमा श्रीलंकाविरुद्ध नेपालले खेल्नेछ । 'श्रीलंका र म्यान्मार बलियो भए पनि पराजित गर्न नसकिने टोली होइनन्,' श्रेष्ठले भने, 'त्यसैले उनीहरूलाई पराजित गर्ने हाम्रो तयारी हुनेछ ।' तयारीका लागि छोटो समय पाए पनि खेलाडीले गरिरहेको मेहनत र कोलकाताको अभ्यासपछि टोलीमा अझ सुधार आउने विश्वास प्रशिक्षक श्रेष्ठको छ ।

0 तपाईका प्रतिक्रियाहरु: