स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

9:30:00 am

काठमाडौंको वैकल्पिक विमानस्थल ?????

सामग्री प्रस्तुति Ram Prasad Panta

गत वर्ष ६२ लाख यात्रु आवागमन भएको त्रिभुवन विमानस्थलको बढदो हवाई चापलाई स्थानन्तरण गर्ने उद्देश्यले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार काभ्रेको नागीडाँडा र ठूलीचौरको स्थलगत अवलोकन गरेको छ । गएको चैत १६ गते पर्यटन मन्त्रालयले सयदिने कार्यक्रममार्फत लुक्लालगायत काठमाडौं पूर्वका लागि हुने आन्तरिक उडानलाई यहाँबाट सञ्चालन गर्नका लागि छुट्टै विमानस्थल निमार्ण गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसैको कार्य प्रगति हेर्न मन्त्री अधिकारी ३३ औं दिनमा काभ्रेका जनप्रतिनिधि, वायुयान सञ्चालक, विमानस्थल निर्माण र सञ्चालन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सञ्चारकर्मीसहित स्थलगत अवलोकनका लागि यहाँ आइपुगेका हुन् । Read More ...
मन्त्री अधिकारीसहितको टोलीले बनेपा नगरपालिकाभित्र पर्ने नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको स्थलगत अवलोकन गरेको थियो । यहाँ आइपुगेपछि स्थानीय जनप्रतिनिधिहरूले मन्त्री अधिकारीलाई धुलिखेलमै पर्ने चिसापानी ठूलीचौरको डाँडो पनि अवलोकन गराएका थिए । काठमाडौंबाट सबैभन्दा नजिक नागीडाँडा पर्छ । यसको दूरी २५ किलोमिटर रहेको छ । त्यसपछि ठूलीचौर ३५ किलोमिटर हाराहारीमा पर्छ भने बनेपा–बर्दिबास सडक खण्डसँग जोडिएको चिसापानी ठूलीचौर काठमाडौं विमानस्थलदेखि ४५ किलोमिटर हारहारीको दूरीमा छ । दुवै स्थान अवलोकनपछि आयोजित छलफलमा स्थानीय जनप्रतिनिधिहरूले ठूलीचौरको सट्टा नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने धारणा राखेका थिए । अहिले ठूलीचौर डाँडा आन्तरिक पर्यटकहरूको घुमफिर केन्द्र र पिकनिक स्पट बनेको छ । धुलिखेल बजारको शिरमा रहेको ठूलीचौर एक मात्र नजिकैको हरियो डाँडो भएकाले विमानस्थल निर्माण गर्न नसकिने जनप्रतिनिधिहरूले मन्त्री अधिकारीलाई औंल्याए । काठमाडौंबाट ९ नटिकलमाइल (१६ किलोमिटर) हवाई दूरीमा रहेको नागीडाँडाबारे ५ महिनाअघि रियलपार्ट इन्जिनियरिङ नाम गरेको परामर्शदाता कम्पनीले अध्ययन गरेको थियो । प्राधिकरणलाई उक्त परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवदेनले नागीडाँडा विमानस्थलका लागि उपयुक्त भनेको छ । परामर्शदाता कम्पनीका ट्रान्सपोट्रेसन इन्जियर गुरुदत्त अधिकारीका अनुसार यो डाँडामा कम्तीमा ८ सय मिटर लामो धावन मार्गसहितको विमानस्थल बनाउन सकिनेछ । यसका लागि ३ अर्ब हाराहारी लागत आवश्यक पर्नेछ । यसको क्षेत्रफल करिब २५ हेक्टर रहेको छ । ३० देखि ५० मिटरसम्म अग्ला डाँडाको माटो कटिङ गर्नुपर्ने हुन्छ । यहाँ २० वटा साना (टुइनअटर आकारका) विमान पार्किङ गर्न सकिनेछ । अध्ययनले १ सयदेखि ३ सय मिटरसम्म धावनमार्गको चौडाइ निकाल्न सकिने जनाएको छ । कुल क्षेत्रफलमध्ये नौ हेक्टर हाराहारी जग्गा निजी रहेको छ भने बाँकी सामुदायिक वनले ओगटेको सल्ला, कटुस, चिलाउने आदिको वन छ । प्राविधिकहरूले यहाँको धावनमार्गमा लुक्लामा जस्तो एउटा विन्दुमा मात्र नभई दुवैतर्फका विन्दुबाट उडान अवतरण गर्न सकिने जनाएका छन् । स्थानीयहरूका अनुसार जाडोयाममा काठमाडौंको विमानस्थलमा जस्तो यहाँ हुस्सु लाग्ने गरेको छैन । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काठमाडौं नजिकै बनाइने विमानस्थलले पोखरा, भैरहवा र सिमरा विमानस्थलाई कुनै असर नपार्ने बताए । ‘विश्वभर हरेक १५ वर्षमा हवाई ट्राफिक दोब्बर भएको देखिन्छ । नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई ट्राफिक बढेको छ । त्यसैले यहाँ विमानस्थल बनाउन उपयुक्त र आवश्यक देखिन्छ,’ मन्त्रीसँगै काभ्रे आइपुगेका महानिर्देशक गौतमले सञ्चारकर्मीसँग भने । अहिले काठमाडौंबाट पूर्व उड्ने र फर्किने विमान नागीडाँडा माथिको आकाश हुँदै उड्छन् । यदि विमानस्थल निर्माण भए यो रुटलाई सार्न सकिने गौतमले बताए । यसअघि काभ्रेका जनप्रतिनिधिले यो स्थानमा विमानस्थल माग गर्दै आएका थिए । तर, प्राधिकरणले हवाई रुटको कारण देखाउँदै नागीडाँडामा विमानस्थल निर्माण गर्न नसकिने जनाउँदै आएको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । बाँस्कोटाका अनुसार माओवादीका तर्फबाट मन्त्री भएका लोकेन्द्र विष्ट मगरले पहिलोपटक स्थलगत अवलोकन गरेका थिए । तर, प्राधिकरणका तत्कालीन महानिर्देशकलगायत प्राविधिकहरूले त्यसताका चलिरहेको हवाई रुटका कारण असम्भव भनेका थिए । काभ्रेमा ठूलेचौर, नागीडाँडबाहेक (मन्डनदेउपुर) नगरकोट आसापास, पाँचखाल, भकुन्डेबेंसी पनि चर्चामा थिए । तर, प्राविधिकहरूले अन्य चार स्थानमध्ये नागीडाँडालाई धेरै कारणले उपयुक्त भनेका छन् । मन्त्रालयले यी पाँच स्थानमध्ये कुन स्थानमा विमानस्थल बनाउने भनी औपचारिक निर्णय गरिसकेको भने छैन । मन्त्री अधिकारीले प्राधिकरणका पूर्वइन्जिनियर कमल केसीको संयोजकत्वमा एउटा कमिटी बनाउँदै छन् । उक्त कमिटीको सिफारिसका आधारमा मात्रै स्थान तोकिनेछ । पर्यटनमन्त्री अधिकारीले यो कार्य केही दिनभित्रै हुने बताउँदै आगामी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन हुने भनेका छन् । @ Kantipur National daily

0 तपाईका प्रतिक्रियाहरु: