स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:36:00 am

यस्तो पो बिहे !

सामग्री प्रस्तुति Ram Prasad Panta

बिहे थियो तर कुनै तामझाम थिएन । माला र नयाँ पोसाकका कारण बरवधू सामान्य रूपमा नायक-नायिकाजस्तै देखिएका थिए । दाइजो, भव्य उपहार र परम्परागत लफडा हुने त कुरै भएन ।धादिङस्थित महादेवबेंसी बजारमा शनिबार बिहे गराउन जम्मा भएको समूहका सहभागी भन्दै थिए, 'बिहे हुनु त यस्तो पो ! सेना समायोजनको बहस चलिरहेका बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै अलग छ ।'प्रसंग हो माओवादी जनसेनामा रहेकी धादिङ, थाक्रे-३ महादेवबेंसीकी सलिसा अर्याल र नेपालगन्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीच भएको विवाहको । प्रगतिशील बिहे नाम दिइएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका धादिङ क्षेत्र नम्बर १ का सभासद् पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होइन राजनीतिक अर्थ पनि छ ।' स्थानीय महादेवबेंसीकी अर्याल र उनको गाउँनजिक कोइरालेडाँडामा रहेको नेपाली सेनाको टुकडीमा सेवारत आचार्यबीच झन्डै एक वर्ष लामो प्रेम चल्यो । 'सम्बन्धका कारण पनि हामी बिहेको बिन्दुसम्म आइपुग्यौँ,' छापामार प्रशिक्षणप्राप्त वधू सलिसाले भनिन्, 'हामीले जे गर्‍यौं, सतप्रतिशत सही गर्‍याँ ।' नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै गर्दा सलिसाको अनुहार खुसीले धपक्क बलेको थियो ।सलिसा र श्रीकुमारबीचको प्रेमकथा त्यत्तिकै घतलाग्दो छ । चितवनको शक्तिखोरस्थित माओवादी जनसेना शिविरमा रहेकी सलिसा आफ्ना बेपत्ता बाबु इन्द्रबहादुर अर्यालको खोजीका लागि आफ्नै घर धादिङको महादेवबेंसी फर्केकी थिइन् । 'जनयुद्धको वेला बेपत्ता भएका मेरा बाबुको खोजीका लागि सहयोग माग्ने सिलसिलामा नेपाली सेनाका प्युठ श्रीकुमारसँग परिचय भयो,' उनले आफ्नो प्रेमकहानी सुरु गरिन्, 'त्यसपछि मलाई उहाँको स्वभाव र चरित्र मन पर्न थाल्यो ।'२५ कात्तिक ०६० मा सलिसाका बाबु इन्द्रबहादुरलाई तत्कालीन शाही सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेर बेपत्ता पारेको थियो । बाबु बेपत्ताको बदला लिन भनेर माओवादी शरणमा पुगेकी सलिसा दस कक्षा पढ्दापढ्दै ०६३ मा 'जनसेना' बनिन् । अनमिनले गरेको पहिलो प्रमाणीकरणमा उनी माओवादी सेनामा योग्य ठहरिएकी थिइन् । 'दोस्रो प्रमाणीकरणका वेला यतै घरतिर भइयो । शक्तिखोर गइएन,' मुस्कुराउँदै सलिसाले भनिन्, 'यता, सेनाको दोस्त फेला पारियो । यतै बसियो ।'बाबु बेपत्ता पारिएपछि तत्कालीन शाही सेनासँग आगो बनेकी सलिसाले अन्ततः सेनाकै जवानसँग प्रेममा फसेको कुरा उनको घर-परिवारलाई थाहा थियो रे । परिवारका सदस्यलाई थाहा हुँदाहुँदै श्रीकुमारको बिदाको मौका पारेर उनीहरू लुकिछिपी 'डेटिङ' गर्ने गरेको स्थानीयवासीले बताए । बिहेमा सहभागी स्थानीय ईश्वर थापाले भने, 'अब त ढुक्क भो नि, जीवनसाथी बनेपछि ।' गाउँमा सानुमैया भनेर परिचित जनसेना सलिसाले बिहेअघि नै सेनामा कार्यरत आफ्ना प्रेमी श्रीकुमारको तस्बिर कोठामा सजाएर राखेकी थिइन् । उनले लजाउँदै भनिन्, 'दिलमा सजाउने मान्छेको तस्बिरलाई कोठामा सजाएको हो ।'बिहेमा उपस्थित केहीले खासखुस गरेको पनि सुनियो । भन्दै थिए, 'सानुमैयाले सेनासँग बिहे गरेपछि कतै आस्था नै परिवर्तन त गरिनन् ?' जिज्ञासा वधू सलिसासँग पनि प्रश्न राखियो । एकक्षण सोचमग्न बनेर उनले भनिन्, 'म अहिले पनि माओवादीप्रति त्यत्तिकै आस्था राख्छु । र, राखिरहन्छु ।' बिहेमा प्रमुख अतिथिका रूपमा माओवादी सभासद् मल्ल मात्र होइन जनमुक्ति सेना चौथो डिभिजन कमान्डर यमबहादुर अधिकारी र जिल्ला सेक्रेटरी आकांक्षालगायत माओवादी कार्यकर्ता सहभागी थिए । बिहेमा अतिथिलाई स्वागत गर्ने क्रममा दुलहीका काका भरतले समाज परिवर्तनकै लागि बाबुलाई सेनाले बेपत्ता बनाए पनि सैनिकलाई नै छोरी दिएको बताए । 'परिस्थिति बदलिएको छ । अब बदलाको भावनाले मात्र काम गर्दैन,' भरत भने, 'यो बिहेलाई सबैले अर्थपूर्ण रूपमा लिएका छन् । हामी त्यसैमा खुसी छौं ।' -रामेश्वर कार्की/नयाँ पत्रिकाधादिङ, १४ मंसिर

0 तपाईका प्रतिक्रियाहरु: