स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

                 गत वर्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट अचानक राजीनामा दिए। उनको राजीनामा अप्रत्याशित थियो, तर युवा ज्योतिष हरिहर अधिकारीले  माधवकुमार नेपाल प्रधानमन्त्री भएकै भोलिपल्ट उनको राजीनामा फलनो समयमा हुन्छ भनेर दिन तोकेका थिए। यो एउटै भविष्यवाणीले यी फुच्चे ज्यो तिषको चर्चा हुन थालेको थियो। विश्वकप क्रिकेट भारतले जित्छ भन्ने अधिकारीको भविष्यवाणी पनि सही सावित भएपछि भने २२ वर्षकै उमेरमा उनी  व्यस्त हुन थालेका छन्। पछिल्लो समयमा उनकै सल्लाहमा नायक राजेश हमालले आफ्नो विवाह दुई वर्ष सारेको बताइादैछ। ५० वर्ष पुग्न लागेका  हमाललाई पहिलोपल्ट विवाहयोग्य  कुनै युवती मन परेकी थिइन्, तर अधिकारीले यो विवाहलाई पनि थप दुई वर्ष पर सारिदिए। विदेशमा पढेका, संसार  बुझेका एवं बल्ल-बल्ल विवाह गर्न लागेका नायक हमालले एउटा फुच्चेले भनेकै भरमा विवाह सार्नु सबैका लागि अचम्मको कुरा हो। आखिर युवा ज्यो तिष अधिकारीसँग कुन त्यस्तो सूत्र छ, जसका पछि राजेश हमाल जस्तो कलाकार पनि लागेका छन् ? उनको भविष्यवाणी कसरी धमाधम मिलिरहेको छ  ? दुई वर्षदेखि एउटा टेलिजिभन च्यानलमा फलादेश शीर्षकको कार्यक्रम चलाइरहेका अधिकारीसँग साप्ताहिकको कुराकानी ः 

तपाईंले नायक राजेश हमालको हुन लागेको विवाहलाई दुई वर्ष पर सारिदिनुभयो भन्ने हल्ला छ, त्यस्तो सल्लाह किन दिनुभयो ?

किनभने राजेश हमालको कुण्डलीमा अहिले विवाहको योग छैन। विवाहको घरमा शत्रुको बास छ। दुई वर्षअघि हमालजीले विवाह गर्नुभयो भने या त उहा ँले पत्नी वियोग सहनुपर्छ या त पारपाचुके हुन्छ। यस्तो हुन्छ भन्ने थाहा भएपछि किन आफ्नो जीवनलाई अप्ठयारो पार्नुहुन्छ भनेर सल्लाह दिएको हुँ।  आखिर साँचो प्रेम हो भने अरू दुई वर्ष कुर्दा पनि प्रेम त मर्ने होइन।

दुई वर्षअघि त्यही युवतीसँग विवाह गर्दा राजेश हमालको विवाह बिग्रने, पछि गर्दाचाहिँ सपर्ने भन्ने कुरा हाँसउठ्दो छैन र ?

सुन्दा अपत्यारिलो अवश्य छ, तर साँचो हो।

अनि यस्तो कुरा राजेश हमालजस्ता संसार बुझेका मानिसले पत्याउनु अचम्म होइन ?

हो, म उमेरले कच्चा अवश्य छु, तर यो मैले गरेको भविष्यवाणीको वैज्ञानिक आधार छ। धेरैलाई ज्योतिषशास्त्रप्रति विश्वास नलाग्न सक्छ, त्यो व्यक्तिको  स्वतन्त्रता हो तर म ठोकेर भन्न सक्छु, राजेशजीले दुई वर्षअघि कुनै हालतमा विवाह गर्नु हुँदैन। राजेशजीले मेरो कुरामा त्यसै विश्वास गर्नु भएको होइन।  उहाँको १३ वर्षको उमेरमा भएको दुर्घटना एवं बुबासँगको खटपटका सम्बन्धमा मलाई कुनै पूर्वजानकारी थिएन। उहाँको जन्म समयबाट फलादेश  निकाल्दा  मैले ती कुरा भनेको थिएँ। त्यसो भएकाले विवाहको कुरा पनि असत्य हुने कुनै कारण छैन।

यो त प्रेममा भाँजो हालेको भयो नि ?

म उहाँको प्रेमिकासँग माफी माग्दै भन्छु, मलाई प्रेमको दुस्मन नमान्नुहोला। किनभने यसमा उहाँहरूकै भलाइ छ।

जुन ज्योतिषशास्त्रको आडमा भविष्यवाणी गर्दै हुनुहुन्छ, यस्ता भविष्यवाणी धेरै ज्योतिषले गरे तर ती पुगेनन्। तपाईंको ज्योतिष गणना सही छ भन्ने तर्क  के छ ?

किनभने म  विज्ञानमा स्नातक गरिररहेको युवा हुँ। ज्योतिषशास्त्रमा कहाँ कमजोरी भयो भन्ने मैले थाहा पाएँ। ज्योतिशशास्त्र विज्ञानकै एउटा भाग हो।  यदि सही अनुसन्धान गर्ने हो भने यसले सही परिणाम दिन्छ।

त्यो सही अनुसन्धान भनेको चाहिँ के हो ?

ज्योतिषशास्त्रले ग्रह नक्षत्रका आधारमा व्यक्तिको जीवन कसरी अघि बढ्छ भन्ने कुराको विश्लेषण गर्छ। आधुनिक विज्ञानको ज्ञान नहुँदा पुरानै पुस्तकका  आधारमा फलादेश गर्ने शैली अहिले प्रचलित छ। हजारौं वर्षअघि लेखिएका पुस्तकमा अहिले परिवर्तन भएका ग्रह नक्षत्रको कुरा उल्लेख छैन। हजार वषर् अघि पृथ्वी जुन स्थानमा थियो, अहिले त्यो स्थानबाट सरिसकेको छ। शून्यमा अडिएका चन्द्रमा, बुध, चन्द्र, बृहस्पतिजस्ता ग्रह पनि ती स्थानमा छैनन्।  समयसँगै सबै कुराले आफ्नो स्थान छाड्दै जान्छन्। फलादेशको शैली पनि पुरानो छ। अहिले विज्ञानले पृथ्वीबाट चन्द्र, सूर्य, बुध, बृहस्पति कुन स्थानमा  कति टाढा छन् भन्ने कुरा राम्रोसँग देखाउन सक्छ। त्यसबाट राम्रो कुण्डली बनाउन सकिन्छ। राम्रो कुण्डली बनाएको खण्डमा उचित रूपमा गणना गर्न  सकिन्छ र सही अनुसन्धान हुन्छ।

कतिपयले त ज्योतिषको गणना पद्धतिलाई नै काल्पनिक भनेका छन्, हामीजस्ता व्यक्तिलाई पनि यो मान्छे ठग्ने मेलो हो भन्ने लाग्छ, कसरी बचाउ  गर्नुहुन्छ ?

सबैभन्दा पहिले त धेरै व्यक्तिले ज्योतिषले भूतका बारेमा भनेका कुरा सत्य निस्कियो भनेको सुन्नुभएकै होला। भविष्य पनि मिलिरहेको छ भन्ने कुरा  माधवकुमार नेपालको राजीनामा र विश्वकप क्रिकेटमा भारतको जितले पनि पुष्टि गरेको छ। यद्यपि म एउटा-दुईवटा कुरा मिल्यो भन्दैमा यो सही हो  भन्दिनँ, सबै सही हुनुपर्छ भन्ने मेरो मान्यता हो। किनभने हामी पृथ्वीमा जन्मन्छौं। जन्मदा जुन ग्रह-नक्षत्र जुन-जुन अवस्थामा हुन्छन्, हामी स्वतः त्यसको  प्रभावमा पर्छौं। अहिले पनि हामीमाथि विभिन्न ग्रहको प्रभाव परिररहेको छ। हाम्रा ग्रह अनुकूल छन् भने हामी अनुकूल अवस्थामा हुन्छौं, ग्रह प्रतिकूल छन्  भने हामीले समस्या भोग्नैपर्छ। यो हजारौं वर्षदेखि अनुसन्धान गरेर प्रमाणित भएको विषय हो।

ग्रह-नक्षत्रका बारेमा शास्त्रहरूले नभनेका कुरा विज्ञानले भनिरहेको छ, पुराना सबै कुराले शास्त्रलाई काटिरहेका छन्। के भन्नुहुन्छ ?

हामीले शास्त्रले भनेका कुरा के पत्याउनु भनेर हेला गरेका रहेछौं। हिजोसम्म म पनि यस्ता कुरामा विश्वास गर्दिनथेँ। जब ज्योतिषशास्त्र अध्ययन गर्न  थालें, आफैं अरूलाई पुराना कुरा बुझाउँदै हिँड्न थालेको छु। हामी आधुनिक विज्ञानमा न्यूटनले रूखबाट स्याउ झरेको देखेपछि पृथ्वीको गुरुत्वाकर्षण  शक्ति पत्ता लगाए भन्छौं तर त्यो सत्य होइन। न्युटन जन्मनुभन्दा हजार वर्षअघि नै भाष्कराचार्यले आफ्नो पुस्तक लीलावतीमा पृथ्वी शून्यमा अडिएको र  हरेक ग्रहको आ-आफ्नो शक्ति रहेको कुरा उल्लेख गरेका छन्। पृथ्वीमा आफूतिर तान्ने शक्ति छ भनेर लीलावतीमा प्रस्ट उल्लेख छ।

तपाईंले आफैं कुनै अनुसन्धान गर्नुभएको छ ?

म विज्ञानको विद्यार्थी भएकाले जुनसुकै भविष्यवाणी पनि लामो अनुसन्धानपछि गर्छु। पुस्तकमा लेखिएका कुरालाई व्यवहारको कसीमा जाँचेर हेर्छु। सुधार  गर्नुपर्ने भए त्यसलाई आफै करेक्सन गर्छु। आजको युगले प्रमाण माग्छ, त्यही भएर प्रमाणित नभै म बोल्दिनँ।

तपाईंले आफंै चित्त बुझेको अनुसन्धानचाहिँ के थियो ?

२०६१ साल माघ १ गते थानकोटमा तत्कालीन विद्रोही माओवादीले प्रहरी चौकीमा आक्रमण गरे। उक्त आक्रमणमा ११ प्रहरीलाई गोली लाग्यो, तीमध्ये  १० जना मरे। मर्नेमध्ये मेरा फुपाजु पनि हुनुहुन्थ्यो। जब मैले ज्योतिषशास्त्र अध्ययन गर्न थालें, फरक-फरक समयमा जन्मिएका, फरक-फरक पारिवारिक  एवं सामाजिक पृष्ठभूमिका व्यक्ति कसरी एउटै समयमा मरे ? भन्ने कुरा मन्थन गरे । त्यसपछि मलाई उक्त घटनाका सम्बन्धमा ज्योतिषशास्त्र अनुसार  अध्ययन गर्न मन लाग्यो। मैले प्रहरी प्रधान कार्यालयबाट उनीहरू जन्मिएको र जागिर खाएको मिति एवं समय ल्याएँ। जन्मिएको मिति गलत पनि हुन  सक्थ्यो, कारण जागिर खान जुन नागरिकता पेस गरिन्छ, त्यसमा उमेर घटाइएको वा बढाइएको हुनसक्छ। त्यसैले उनीहरूले जागिर खाएको मितिलाई  मैले विश्लेषण गरें। अनुसन्धान गर्दै जाँदा मैले के पाएँ भने ती ११ जना प्रहरी भिन्दाभिन्दै समयमा जागिरमा प्रवेश गरे पनि सबैको हाजिर हुने दिनमा  अचम्मको संयोग देखियो। मृत्यु भएका दसै जना  प्रहरीको जागिरमा भर्ना हुने दिन मंगल र शनिको योग परेको थियोअनि जुन दिन र जुन समयमा चौ कीमा आक्रमण भयो, त्यो बेला पनि मंगल र शनिको योग परेको थियो तर जसलाई गोली लागे पनि उनी बाँचे, ती व्यक्तिले जागीरमा प्रवेश गरेको  दिन शनिको योग परेको थियो। उनलाई मंगलले बचायो। यद्यपि शनिका कारण उनले पनि गोली खानुपर्‍यो।

 तर मारिएका धेरै व्यक्तिको कुण्डली हेर्ने हो भने उनीहरू ७० वर्ष बाँच्ने देखिन्छ, यो विरोधाभास किन ?

यसैलाई त ग्रहको योग भनिन्छ। तपाईंलाई कुनै दशा लागेको छ भने फलानो मन्त्र जप्नुहोस् वा फलानो ढुंगाको औंठी लगाउनुस् भनेर सल्लाह दिइन्छ।  आफ्नो प्रतिकूल ग्रहका कारण कुनै अप्ठयारो नपरोस् भनेर त्यसो गरिएको हो। यदि ती प्रहरीलाई त्यतिबेला मंगल र शनिको प्रभावबाट जोगाउन  सकिएको भए त्यो ग्रहको प्रभाव निष्त्रिmय हुन सक्न्थ्यो, फलस्वरूप उनीहरू अहिलेसम्म पनि बाँचिरहेका हुन्थे।

0 तपाईका प्रतिक्रियाहरु: