स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

8:37:00 am

यौन चाहना पूरा गर्न 'सेक्स टोय'

सामग्री प्रस्तुति Ram Prasad Panta

रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् 
रोबोटसँग प्रेम र यौनसम्पर्क' पुस्तकमा डेभिड लेभी लेख्छन्, 'सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्रै नभई प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिनेछ ।' यौनप्रति अनुदार परम्परा भएको नेपालमा 'कन्डम हाउस'को तीव्रतर फैलिएको लोकपि्रयता र युवायुवतीमाझ 'सेक्स टोय'को बढ्दो मागले डेभिडले भनेजस्तो 'रोबो सेक्स'को संसारमा पाइला डोर्‍याउन चाहने युवा जमात नेपालमा पनि तयार भइरहेको देखाउँछ । 
अमेरिका र भारतजस्ता केही राज्यमा 'सेक्स सप' खोल्न र कृत्रिम यौनसाधनको किनबेच गर्न बन्देज गरिएको छ । अनुमति दिइएका राज्यमा पनि सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य-मान्यताको आधारमा विरोध हुने गरेको छ । तर, नेपालमा कृत्रिम यौनसाधनको बिक्री-वितरण सहज बन्दै छ । यौनसाधनको बिक्री-वितरण खुला भएका देशमा पनि यसको दुरुपयोग ठूला चुनौती बन्दै छन् । बेलायतको उदाहरण लिऊँ, बालबालिकाले पनि कृत्रिम यौनसाधन किन्न थालेपछि सरकारका लागि 'यसको बिक्री खुला गर्ने कि बन्देज गर्ने' भन्ने तनाव आइलागेको छ । यसले के देखाउँछ भने कृत्रिम यौनसाधनको व्यापार गर्ने अनुमति भएका वा नभएका दुवैखाले देशमा समस्या खडा छन् भिन्नखाले । 
पहिलोपटक दुई वर्षअघि नेपालमा खुलेको 'दि कन्डम हाउस'का ग्राहकमा पुरुषभन्दा महिला बढी छन् । हुनेखाने र निकै पढेलेखेका वर्गका नेपाली ग्राहकमा पछिल्लो प्रविधिका महँगा 'सेक्स टोय' (यौन-खेलौना)को आकर्षण बढ्दो छ । 'सेक्स टोय'को व्यापार हुने काठमाडौं खिचापोखरीको 'दि कन्डम हाउस'को उद्देश्य 'नेपाली ग्राहकबीच यौन-सामग्रीको व्यापार बढाउनु' भएको यसका मार्केटिङ अफिसर मणि सापकोटा बताउँछन् । सापकोटाका अनुसार, पुराना प्रयोगकर्ताले दिएको सूचनाको आधारमा थपिने नयाँ ग्राहक पनि बढिरहेका छन् । पुरुषहरू पसलमै आएर निकैबेर मोलतोल गरेर सेक्स टोय किन्छन् भने महिलाहरूचाहिँ पहिले फोनबाट जानकारी लिएर किन्न आउने गरेको उनी बताउँछन् । 
'सेक्स टोय किन्नभन्दा पनि यसबारे बुझ्न आउने केटीहरू बढी हुन्छन्,' उनी भन्छन् । 'दि कन्डम हाउस'मा १५ सय देखि २० हजारसम्मका सेक्य टोय बिक्री हुन्छन् । र, तिनका अधिकांश ग्राहक धरान, पोखरा, इटहरीतिरका काठमाडौंमा आएर बस्ने हुनेखाने वर्गका हुने गरेको सापकोटा बताउँछन् । 'गरिब ग्राहकका लागि १० देखि २० प्रतिशतसम्म छुटमा सेक्स टोय बिक्री गर्छौं,' मणि भन्छन्, 'काठमाडौंका रैथाने ग्राहकचाहिँ यसबारे बुझ्न बढी आउँछन् तर, उनीहरू बढी नै लजाउँछन् ।' 'दि कन्डम हाउसमा होम सर्भिसको पनि सुविधा रहेछ । 'हामीलाई फोन गरेर अर्डर गर्ने ग्राहकचाहिँ काठमाडौंका रैथाने बढी हुन्छन्,' उनी भन्छन् । दि कन्डम हाउसको यो दुईवर्षे कारोबारमा ५०० भन्दा बढी सेक्स टोय बिक्री भइसकेको मणि बताउँछन् । 
बागबजारको 'दि कान्तिपुर कन्डम कलेक्सन' खुलेको आठ महिनामा २५ भन्दा बढी प्रति सेक्स टोयको बिक्री भएको यसका सञ्चालक समीर बोहरा बताउँछन् । 'पसल खुलेको सुरुमा बाटो हिँड्दा पनि मुख छोपेर हिँड्ने मान्छे अहिले सेक्स टोयका ग्राहक बनेका छन्,' समीर भन्छन् । पसलमा पढेलेखेका, उच्च घरानाका, भिआइपी, वकिल, डाक्टरहरू पनि सेक्स टोयबारे बुझ्न र किन्न आउने गरेको उनी बताउँछन् । 'अहिलेसम्मका सेक्स टोयका ग्राहकमा पुरुषभन्दा महिला बढी छन्,' समीरले भने, 'एक दिनअघि मात्रै अस्ट्रेलिया बस्ने आफ्नो श्रीमान्का लागि सेक्स टोय किन्न एउटी महिला आएकी थिइन् । श्रीमान् विदेश गएका श्रीमती पनि किन्न आउँछन् । एक महिनाअघि एकजना विदेश जान लागेका पोखराका केटा आएका थिए, श्रीमतीका लागि किनेर लगे ।' सेक्स टोयबारे बुझ्न दैनिक २५ जनाभन्दा बढी महिला र पुरुष पसलमा आउने गरेको उनले बताए । 
काठमाडौंमा ब्युटिपार्लर चलाइरहेकी एक ३५ वषर्ीया महिलालाई अहिले विदेशमा रहेका उनकै श्रीमान्ले सेक्स टोय पठाइदिएका छन् । 'यौन चाहना पूरा गर्न अरू यौनसाथी बनाउनुभन्दा यस्ता सामग्रीको प्रयोग निकै सुरक्षित हुँदोरहेछ,' दि कान्तिपुर कन्डम कलेक्सनमा सेक्स टोयको फाइदा/बेफाइदाबारे विस्तृत बुझ्न आएका वेला भेटिएकी ती महिलाले सुनाइन् । श्रीमान् बढी नै व्यस्त हुने आफ्ना कतिपय फुर्सदिला महिला साथीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेको उनी बताउँछिन् । 'मेरो एकजना साथीलाई पहिलेदेखि चिनेजानेको चाइनिज महिलाले कृत्रिम पुरुष जनेन्द्रीय दिएकी छिन्,' कालो टिसर्ट र जिन्स पाइन्टमा ठाँटिएकी उनी भन्छिन्, 'यसको प्रयोगले पतिसँगको सम्बन्ध, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा कुनै पनि खाले असर गर्दैन ।' 
'दि कान्तिपुर कन्डम कलेक्सन'मै आवाज निकाल्ने 'सेक्स डल' -नग्न युवतीको पुतली) किनेका एक प्राइभेट कलेजमा मास्टर पढ्दै गरेका अविवाहित युवक कृत्रिम साधनबाट यौनसन्तुष्टि लिनुलाई सभ्य र सुरक्षित यौन सन्तुष्टि र व्यवहार ठान्छन् । 'यसबाट कसैमाथि जबर्जस्ती हुँदैन, न एचआइभी वा अरूखाले यौनरोगको नै डर हुन्छ,' उनी भन्छन्, 'त्यसैले यो निकै आनन्ददायक खेलौना हो ।' यौन-परामर्शदाता डा. बद्री भट्टराई पनि यौनकर्मीकहाँ पुग्नुभन्दा सेक्स टोयको प्रयोग सुरक्षित र स्वच्छ हुने बताउँछन् । 'पहिले-पहिले कन्डम किन्न पनि साह्रै हिचकिचाउने नेपाली समाजमा नक्कली यौनांगको बजार खुल्नुले नेपालीेको यौनप्रतिको धारणामा तीव्र परिवर्तन आइरहेको देखाउँछ,' उनी भन्छन् । 
पुरुष-महिलाबीचको यौनसम्बन्धलाई थुप्रैखाले सामाजिक नीतिनियम र सांस्कृतिक मूल्य-मान्यताले बाँध्ने परम्पराको थालनी भएदेखि नै मानिसमा 'वैकल्पिक यौनसुख'प्रति आकर्षण र उत्सुकता बढेको मानिन्छ । सेक्सको विकल्पको रूपमा 'सेक्स टोय'को जन्म भएको विज्ञहरू बताउँछन् । युवायुवतीमा पारिवारिक हस्तक्षेप, निगरानी घट्दै जानु र यसले विवाह गर्ने उमेर पनि पछाडि सर्दै जानुले उनीहरूको यौनजीवन पनि आफ्नै मर्जीअनुसार चल्दै छ र यौनचाहना पूरा गर्ने माध्यम पनि बदलिँदै छ भन्छन् मानवशास्त्री सुरेश ढकाल । 'आफ्नोअनुकूल प्रयोग गर्न सकिने र यौनसाथीको पनि आवश्यकता नपर्ने हुनाले कृत्रिम यौनसाधनप्रति नेपाली युवायुवतीको आकर्षण बढेको हो,' ढकाल भन्छन् । 
केही वर्षअघिसम्म रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् । 'असुरक्षित यौन-व्यवहारमा फस्ने र यौनमा निकै कुण्ठित भएर बस्नेहरूलाई सेक्स टोय निकै उपयोगी हुन्छ,' उनी भन्छन् । दैनिक विश्व अर्थतन्त्रमा नजिकिइरहेको नेपाली बजारमा यस्ता वस्तु भित्रिनुलाई सामान्य मान्छन् यौनमनोचिकित्सक डा. सुबोधकुमार पोखरेल । उनको भनाइमा, 'सेक्स टोयले व्यक्तिलाई बढी एकान्तिक र अप्राकृतिक बनाउँदै लैजान्छ ।'
कृत्रिमतामाथिको निर्भरताले अन्ततः मानिसलाई मनोरोगी बनाउन सहयोग गर्ने पोखरेल बताउँछन् । 'यसले मानिसलाई यौनकुण्ठाबाट त मुक्त राख्छ तर, कृत्रिम यौन-व्यवहारको लत बढाउन प्रेरित गर्छ । फेरि नेपालीमाझ यो नितान्त नौलो प्रविधि हो र यसको सही प्रयोग गर्न नजान्दा मान्छे थुप्रैखाले शारीरिक र मानसिक तानवमा फस्छ । आत्मरतिका लागि प्रयोग गर्दा राम्रै हो । तर, यसबाट हुने हानि कम गर्न सरकार, उपभोक्ता बढी सचेत हुनुपर्छ,' पोखरेल भन्छन्, 'यौन परामर्श र उपचारका लागि आएका सेक्स टोय प्रयोग गर्ने केही मान्छे आफ्नो यौनांगमा घाउ लिएर आएका हुन्छन् । यसलाई प्राकृतिक यौनसम्बन्धको विकल्पको रूपमा लिने जमात बढ्दै छ । यसले वैवाहिक जीवन तहसनहस पार्न सक्छ ।'
मानवशास्त्री ढकालको विचारमा, सामाजिक सम्बन्ध टुट्दै जाँदा मानिसले यौनमा निजत्व खोज्न थाल्छ र यो यसैको रूप हो । 'यौनका लागि कृत्रिमतातिर लाग्नु अनौठो कुरा होइन । यो आधुनिक समाजको प्रतिविम्ब हो । पहिले मानिस समाजमा बाँधिएको थियो, अहिले ऊ निजी बन्दै गएको प्रमाण हो सेक्स टोय,' उनी भन्छन्, 'सेक्स टोयले आफ्नै सुखको मात्र बढी मतलब राख्ने नेपाली समाजमा मानिसलाई दायित्वहीन, आफूकेन्दि्रत र व्यक्तिवादी बनाउँदै छ । यो मानिसको बाध्यता र प्रविधिको व्यापारीकरण हो । काठमाडौंमा निष्पिmक्री सेक्स टोय प्रयोग गर्ने मान्छे गाउँमा गएर कन्डम किन्न लजाउँछ । यो स्वतन्त्रताको प्रतीक पनि हो भन्ने लाग्छ ।'

0 तपाईका प्रतिक्रियाहरु: