स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:43:00 am

'दरबार हत्याकान्डमा दीपेन्द्र पहिले मारिए

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ७ साउन । नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।' आफूलाई नेपाली सेनाको तत्कालीन हवल्दार र दरबार हत्याकान्डका प्रत्यक्षदर्शी बताउने लालबहादुर लम्तेरी मगरको बयानहरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।' लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।' लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।' गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । 'ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।' खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।'आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए । तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।'आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, 'म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।' उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,' उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।' उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, 'उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।' नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।

0 तपाईका प्रतिक्रियाहरु: