लम्तेरीको बयान
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड पmाइडे' मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।सैनिक अस्पताल पुर्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।
Comments