स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:16:00 am

मिस नेपाल प्रतियोगिताको भूत चढ्दा

सामग्री प्रस्तुति Ram Prasad Panta

- नानी खड्का
मिस नेपाल प्रतियोगितामा तालिमका क्रममा अधिकांश समय 'क्याटवाक' गर्न सिकाइन्छ । भन्नलाई 'क्याटवाक' भने पनि हिँड्दाचाहिँ पोथीहाँसजसरी हिँड्नुपर्छ, ढल्कीढल्की । यो दर्शकलाई मोहित पार्ने पूर्णतया व्यावसायिक हिँडाइ हो । मिस नेपाल प्रतियोगितामा भाग लिएपछि मैले यो चालमा हिँड्न धेरै अभ्यास गरेँ । दिउँसो रचना गुरुङ म्यामले यसरी हिँड्न सिकाउनुहुन्थ्यो भने साँझ-बिहान डेरामा प्राक्टिस गर्थें । काठमाडौंमा दिउँसै रात पर्ने अनेकौँ गल्ली छन् । तिनै कुनै गल्लीको छेउमा मेरा दाजुभाउजूको डेरा छ । म पनि केही समयदेखि त्यही डेरारूपी गुँडमा घुसि्ररहेकी छु । त्यही कोठाको कौसीमा बडो कष्टसाथ म 'क्याटवाक' सिक्थेँ । साँझबिहान यसरी क्याटवाक सिक्दा सकभर कसैले नदेखून् भनेर विचार पुर्‍याउँथेँ । सकेसम्म भाउजूले पनि नदेखिदिए हुन्थ्यो भन्ने ध्याउन्न हुन्थ्यो । हाँस्ने कारणै नभई पनि हाँस्नुपर्ने, पौने तीन इन्च अग्लो जुत्ता लगाएर हिँड्नुपर्ने । कुनै-कुनै दिन त ऐना हेर्दा पनि आफैंमाथि दया लाग्थ्यो । आँखाभरि सप्तरंगी सपना, मनभरि चाहना लिएर काठमाडौं सहर छिरेकी मेरा लागि यो अलौकिक अनुभवजस्तै थियो, तर मेरोजस्तो चाहना पहिल्यै बुबाआमाले पूरा गरिदिएका अन्य प्रतियोगीसँग भिडेर ताज जित्नु महाभारतको युद्ध जित्नुभन्दा कम थिएन । यस्तो हिँडाइ त के, जमानामा कस्तो-कस्तो हिँडाइ हिँडिसकियो भनेर मैले पनि कुनै कसर बाँकी राखिनँ । आमाबुबा, अगाडि-पछाडिका सबैलाई पर राखेर कल्पनाको संसारमा डुबुल्की मार्न थालेँ म । दिनभरि हामीलाई मनको लड्डु घ्यूसँग खान सिकाइन्थ्यो- यस्तो हुन्छ, त्यस्तो हुन्छ, यो हो, त्यो हो आदि-इत्यादि । तराईका राजवंशी समुदायका मानिस हाटबजार जाँदा चप्पलधरि लगाउँदैनन्, तर 'यो हाम्रो परम्परा' भन्न बाध्य छन् । २० रुपैयाँ भए हप्तादिन खाने तरकारी आउँछ, चप्पल कुन पैसाले किनून् तिनले ? तर, मैले भने मेरी आमाले पसिना चुहाएर जोडिदिएको गलाको सिक्री बेची-बेची अग्लो हिलजुत्ता किनेकी थिएँ । अरूको भन्दा केही कमसल देखिन्थ्यो मेरो जुत्ता । त्यो जुत्ता मेरी रचनाम्यामले रत्तिभर मन पराउनुभएको थिएन । जुत्ता मात्र होइन, मेरो गोडा पनि मन पर्दैनथ्यो उहाँलाई । त्यसैले मेरो खुट्टा छोपिराख भन्नुहुन्थ्यो । पेडिक्युर, मेनिक्युर भनेको मैले यहीँ आएर थाहा पाएकी थिएँ । म्यामले मेरो गोडा मन नपराउनुभएको मुख्य कारण मैले पेडिक्युर, मेनिक्युर नगरेकाले रहेछ । सरकारी स्कुल पढेकी म स्कुल जाँदा चप्पल लगाएर जान्थेँ । जुत्ता लगाएर जान पाएकी भए पो गोडा राम्रा र अरूका जस्तै चम्किला हुन्थे । तैपनि, 'म यहाँ मिस नेपाल हुन आएकी हुँ' भन्दै हातगोडाको मेनिक्युर, पेडिक्युर गराएँ । त्यसपछि भने मेरा हातगोडा पनि अरूकै जस्तो चम्किए । तर, म्याम ! मेरा हातगोडाको चमकभन्दा पनि मेरो साहस र हिम्मत हेरिदिएको भए पनि तपाईंको के जान्थ्यो र ? झरना, खहरे कति माथिबाट र्झछन्, तर तल गएर ढुंगामा बजारिनुपर्छ भन्ने रत्तिभर पनि भय हुन्न तिनलाई । मौसममा फूलहरू ढकमक्क फुल्छन् जसलाई भोलि ओइलाएर झर्नुपर्छ भन्ने रत्तिभर भय हुन्न । अनि आँप, चाँप र जाईजुही फुल्नलाई चैतवैशाखको हुरीले छेक्दैन । चराचर जगत्मा हरेक प्राणी, कीटपतंग सबैमा जोखिम वहन गर्ने क्षमता हुन्छ । अवसर पाए कोहीभन्दा कोही कम छैनन् । हाम्रोजस्तो देशमा जहाँ सलमान रुस्दी ज्योतिषबा बन्न बाध्य छन्, शेक्सपियर दबदबे हिलोमा असारेगीत गाउँदै हलो जोत्दै छन् अनि नील आर्मस्ट्रंग र राइट दाजुभाइहरू खेतको आलीमा बसेर खेतमा पानी फर्काउने पालो कुरिरहेछन्, तिनलाई मध्याह्नको टन्टलापुर घाममा खाजाको पोको पुर्‍याउन जाने मजस्ताको बसमा यस्ता प्रगियोगिता छैनन् भन्ने अन्दाज मलाई नभएको होइन, तैपनि म के कम भनेर लागिपरेकी थिएँ । मिस नेपाल बन्नकै लागि के गरिनँ मैले ? अनुहारमा फेसियल गरेँ, पेडिक्युर मेनिक्युर गरेँ । काखीमुनि, पिँडौलामा भएको रौँ पनि मैन दलेर फालँे । सानामा नाक-कान छेड्दा के दुख्या थियो र, त्यति साह्रो दुख्यो । तर, रुन सकिनँ, किनभने मलाई मिस नेपाल बन्ने भूत चढेको थियो । आमा-बाले यो भूत झार्ने कोसिस नगरेका होइनन् । 'परिवारमा कसैले देखेको, नचाखेको काममा किन भाग लिन परो' नभनेका होइनन् । 'घर आइज, क्वाको धामीकहाँ लैजान्छौँ' पनि भनेका हुन् । तर, नाङ्लाको पखेटा बनाएर दुवै हातमा बाँधेर भुइँमा न भाँडामा, कुकुर टाँडामा भएर उडिरहेकी मलाई यस्ता कुराले छुन के सक्थ्यो र !'समुन्द्रमा डुबि त हालेँ, अब मोती नलिईकन कसरी र्फकनू' भन्ने विचार राखेर आफ्ना तर्फबाट कुनै कन्जुस्याइँ गरिनँ मैले । महिनादिन बढी रातदिन क्याटवाक गर्दागर्दा मलाई लाग्न थालेको थियो- बाटामा हिँड्ने मानिसलाई त हिँड्नै आउँदैन । धत्, त्यो हिँडाइ पनि कुनै हिँडाइ हो ? हिँड्नै नजानी यत्तिका वर्ष बर्बाद पारेकीमा आफैंसँग कम थकथक लागेन । लगभग तीनजोर जुत्ता भाँच्चिए मेरा । भाँच्चिनासाथ किनिहाल्थेँ, किनकि सिक्री बेचेको पैसा अझै बाँकी थियो मसँग । हरेकपटक आफैंलाई बधाई दिन्थेँ, कसो जुत्ता मात्रै भाँच्चिए, धन्न खुट्टा भाँच्चिएन । फेरि लाग्थ्यो, जाबो क्याटवाक गर्दै भाँच्चिने खुट्टाको के काम ? जाबो पौने तीन इन्चको जुत्ता लगाउँदै भाँच्चिने खुट्टाको के काम ? रचनाम्यामको व्यावसायिक हाँसो, हाउभाउ देखेर मलाई उनका बारेमा एउटा कविता लेख्न मन लागेको थियो । तर, मिस नेपाल हुन त्यहाँ गएकी म कता कविता लेखेर कवयित्री बन्नू ? यो त जर्ज डब्लु बुस लालु यादवलाई अंग्रेजी सिकाउन आउँदा उल्टै उसैले हिन्दी सिकेजस्तै हुनेभो भनेर फुरिसकेको भावनालाई पनि थामथुम पारेर रोकेँ । अब गुरुआमा हुन न त गुरुकी आदर्श पत्नी हुनुपर्छ, न निष्पक्ष र पवित्र निर्णय नै गर्नुपर्छ । प्राचीन गुरुकुलका गुरुआमा र शिष्यले हाँसीहाँसी दाँयाहातको बूढीऔँला दान गर्ने शिष्य अब कहाँ छन् र ? शिक्षा अब सबैभन्दा ठूलो व्यापार भएको छ । रचनाम्यामको शिक्षा पनि कसरी फरक होस् र ? हङकङमा जन्मनुभयो, पाश्चात्य प्रभाव पर्ने नै भयो । केटीहरूलाई क्याटवाकमा केही हदसम्म पोख्त बनाएर मञ्चमा प्रस्तुत हुन सिकाउने कला छ उहाँसँग । १९-२० जनाको बथानलाई मञ्चमा उतार्दा क्रमबद्ध तरिकाले उतार्न क्याटवाक सिकाइन्छ । मञ्चमा विभिन्न चरणमा कसरी मिलेर जाने र फर्किएर आएर आफ्नो ठाउँमा कसरी बस्ने भनेर सिकाउनुलाई अंग्रजीमा कोरियोग्राफी भनिँदोरहेछ । रचनाम्यामबाट हामीले अधिकांश समय यही सिक्यौँ । रचनाम्यामको बोलीमा प्रभाव कम, हैकम बढी छ । हामी त बिचरा भइहाल्यौँ, आयोजकसमेत थर्कमान । त्यहाँ पुगेका हरेकलाई मिस नेपाल हुनु छ । त्यसैले आँखा चिम्लेर विवेकको बट्टा बन्द गरेर आज्ञाकारी बन्नुको विकल्प छैन । यो जमानाका आधुनिक र आत्मनिर्भर नारीकी प्रतीक रचनाम्यामको हरेक मिस नेपाल प्रतियोगितामा बोलवाला चल्छ । सबै केटीको तालिमको अधिकांश समय उहाँकै संसर्गमा बित्छ । त्यसैले उहाँका सबै खुबी थाहा भइहाल्छ । निणर्ायक मण्डलमा दसजना थिए, अधिकांश म्यामकै मित्र । आयोजक संस्थामा कम्तीमा पनि पचास व्यक्ति हुँदा हुन् । कुल मिलाएर साठीदेखि सत्तरी मानिसमाथि म्याम हाबी हुनुहुन्थ्यो, नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाजस्तो । पहिल्यै लाग्थ्यो, शीताष्मा चन्दलाई मिस नेपाल बनाउन लागिपर्नुभएको छ उहाँ । तालिममा जहिले पनि 'बबिताको केश राम्रो छ, मिस ब्युटिफुल हेयर टाइटल यसकै हो' भनिरहनुहुन्थ्यो । पछि, कसरी ट्राफिक सिग्नल बिग्रेछ कुन्नि, मेरो केश पो राम्रो मानियो र मैले त्यो उपाधि पाएँ । तर, मेरो केश राम्रो भएको कुनै स्याम्पुले चाहिँ होइन । यो त मेरी आमाको देन हो जसको कपाल यस उमेरमा पनि झुलेको धानजस्तो लहलह र चम्किलो छ । तर, आफूलाई फाइदा नहुने काम त कसले गर्छन् र यहाँ ? आखिर सबैजना व्यावसायिक छन् ? 'टयालेन्ट सो'को दौरान जोजो केटी फितला छन् भन्ने प्रमाणित भएको थियो, तिनै केटीलाई टपटेनको पगरी गुथ्ने अवसर दिइयो । हामीजस्ता केटीलाई जुन ठाउँबाट त्यहाँसम्म पुगेका थियौँ पुनः त्यही ठाउँमा फर्काइयो । एउटा गुमनाम जिन्दगीमा । आफ्ना सपना अबउप्रान्त शीताष्मा चन्दको आँखाले हेर्ने अघोषित सन्देशका साथ । अन्त्यमा मेरा केही प्रश्न ः आखिर प्रायोजकलाई केवल केटी, तीनोटी केटी चाहिएको भए किन देशभरिका लाखौँ केटीलाई सपना देखाउनू ? उत्कृष्ट दस भनेर केवल दसजनालाई मात्र अगाडि लैजाने हो भने १०-११ जना अरू अनुत्कृष्टलाई किन समय खेर फाल्न लगाउनू ? त्यस्तै केश मेरो राम्रो रहेछ, मुस्कान ऋचाको राम्रो रहेछ, अनि छाला रश्मिको राम्रो रहेछ भने शीताष्माको के राम्रो थियो र मिस नेपाल घोषणा गरियो ? यी प्रश्नको जवाफ रचनाम्यामसँग छ ? कि आयोजक वा प्रायोजकसँग ? यदि उहाँहरूसँग छैन भने कोसँग छ ? लौ न, बताइदिनुपर्‍यो । ('मिस नेपाल- २००७' की प्रतियोगी नं १ खड्काले 'मिस ब्युटिफुल हेयर' उपाधि जितेकी थिइन् । )

0 तपाईका प्रतिक्रियाहरु: