स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:13:00 am

कांग्रेसद्वारा एमालेलाई नेतृत्वको प्रस्ताव

सामग्री प्रस्तुति Ram Prasad Panta

कांग्रेसले माओवादीबाहेकको सरकार गठनका लागि एमालेसित प्रस्ताव गरेको छ । सोमबार बिहान एमाले र मधेसी जनअधिकार फोरमका नेताहरूसितको त्रिपक्षीय छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सो प्रस्ताव राखेका हुन् । पौडेलले त्यस्तो सरकारको नेतृत्व एमालेलाई दिन सकिने आश्वासनसमेत दिएको स्रोतले बताएको छ । तर, एमालेले भने माओवादीलाई सरकारबाहिर राख्ने कुरामा असहमति जनाएको छ । एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको निवासमा कांग्रेसका उपसभापति पौडेल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सरकार गठन, मन्त्रालय बाँडफाँड र तीनदलको गठबन्धनका बारेमा छलफल भएको थियो । एमाले नेता नेपालले माओवादीलाई साथ लिएर जानुको विकल्प नभएको धारणा राखेपछि छलफल बिनानिष्कर्ष सकिएको फोरम अध्यक्ष यादवले सञ्चारकर्मीलाई जानकारी दिए । प्रमुख दलहरू सोमबार पनि दुईपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त थिए । कांग्रेसले रक्षा मन्त्रालय नपाए सरकारमा नजाने अडान दोहोर्‍याएको छ भने माओवादीले त्यसलाई अस्वीकार गर्दै आएको छ । कांग्रेस नेता पौडेलले छुट्टै सेना भएको दललाई रक्षा दिन नहुने बताए । माओवादीले प्रजातान्त्रिक पद्धतिलाई अझै पनि रणनीतिक चालका रूपमा मात्रै लिएकाले शक्ति सन्तुलनका लागि रक्षा मन्त्रालय कांग्रेसले लिनुपर्ने उनको धारणा छ । एमाले नेता भीम रावलले छलफलमा आफ्नो दलले सहमतिको आधारमै सरकार बनाउनुपर्नेमा जोड दिएको सञ्चारकर्मीलाई बताए । फोरम अध्यक्ष उपेन्द्र यादवले पनि माओवादीबेगरको सरकारबारे आफ्नो पार्टीले कुनै सोचाइ नराखेको स्पष्ट गरे । एमालेसँगको सोमबारै भएको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले रक्षा मन्त्रालय पार्टीको बटमलाइन भएको दोहोर्‍याए । उनले कांग्रेसले दाबी नछाडेमा प्रतिपक्षमा पुग्ने चेतावनी दिए ।

0 तपाईका प्रतिक्रियाहरु: