स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:19:00 am

कोशीमा बगेकाको दुई सय शव भेटियो

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं । कोशीमा आएको बाढीमा पानीको बहाव घट्न थालेपछि बाढीले बगाएर ज्यान गुमाएका दुई सयभन्दा बढीको शव भारतको बिहार राज्यमा भेटिएको समाचार प्राप्त भएको छ । बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको विभिन्न गाउँमा ती शव शनिबार फेला पारिएको बताइएको छ । यद्यपि ती शव नेपालीका हुन् या भारतीयका भन्ने खुल्न सकेको छैन । स्थानीय साचारकर्मीहरु र सर्वसाधारणलाई उद्धृत गर्दै भारतीय साचार माध्यमले शव भेटिएको समाचार प्रकाशित गरिरहेका छन् । यसअघि सोही स्थानमा २७ वटा शव फेलापरेको पनि उनीहरुले जानकारी दिएका छन् । यद्यपि ती शव पनि कस्का हुन् भन्ने यकिन हुन नसके पनि शवको कपडा र अन्य हुलियाका आधारमा मृतकहरु नेपाली भएको आशंका गरिएको छ । यसबारे सुनसरी प्रशासनले केही बताएको छैन । सप्तकोशी डुबानबाट प्रभावित दुवै देशका बासिन्दाको हुलिया समान रहेकाले शव पहिचान गर्न कठिनाई भइरहेको भारतीय पक्षकाले बताएको छ । यद्यपि त्यसबारे अझै केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ती शवको यकिन पहिचान गर्न शनिबार एक टोली गोप्य रुपमा त्यसतर्फ पठाएको बुझिएको छ । नेपालका चार गाविस डुबाएको कोशीको बाढीले भारतको हनुमाननगर अन्यहा अररिया पासवनपुर मनीपुर भवानीपुरलगायत स्थान पनि डुबाएको छ । जसका कारण त्यहाँका चार लाखभन्दा बढी स्थानीयबासी प्रभावित भएका छन् । यसैबीच हिजो सुनसरी जिल्ला अधिकारी दुर्गा भण्डारीले हजारौं डुबानपीडितलाई उद्धार गरिएको बताएका छन् । यता जनमोर्चा नेपाले कोशी बाँध फुट्नुमा भारत दोषी रहेको भन्दै सबै क्षतिपूर्ति भारतले बेहोर्नुपर्ने र नेपाली जनतासित माफी माग्नुपर्ने माग गरेको छ ।

0 तपाईका प्रतिक्रियाहरु: