स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री बेन जिया बाओबीच आइतबार बेइजिङस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र चीनका आपसी सहयोग सम्बन्धी छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका अवसरमा दुवै नेताले दुवै देशका जनतालाई आपसी लाभ पुग्ने खालका सहयोग र द्विपक्षीय सम्बन्ध अझ विस्तार गर्न आ-आफ्नो सरकारकातर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले एउटा ठूलो देश र उसको सानो छिमेकी देशबीच आपसी सम्मान र समानताका आधारमा रही कसरी सुदृढ सम्बन्ध कायम गर्न सकिन्छ भन्ने नमुना चीन-नेपाल सम्बन्धले प्रस्तुत गरेको चर्चा गरे । उनले नेपाली जनताले चुनेका सामाजिक व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान गर्ने प्रतिबद्धता पनि जनाएका थिए । साथै, उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाल शान्ति र सामाजिक, आर्थिक रूपान्तरणलाई संस्थागत गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा चिनियाँ प्रधानमन्त्रीले नेपालमा हालै आएको बाढीबाट पीडित जनताको सहयोगार्थ चीनको तर्फबाट तीन लाख अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले सो सहयोगका लागि चिनियाँ प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति हु जिन्ताओबीच आइतबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड चीनका राष्ट्रपति हुले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गरेको दिवाभोजमा समेत सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै बेइजिङ ओलम्पिकग्राममा गई शान्तिपर्खालमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपालका प्रधानमन्त्रीलाई ओलम्पिकग्रामका मेयरले स्वागत गर्दै ओलम्पिकग्रामले ओलम्पिक खेलकुदका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ओलम्पिकग्राममा रहेका नेपाली खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई पनि भेटेका छन् । प्रचण्ड बेइजिङस्थित बर्ड नेस्टमा आयोजित उनन्तीसौं ओलम्पिक खेलकुद समापन समारोहमा सहभागी भएका भए । समापन समारोहमा प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, निमित्त मुख्य सचिव माधव पौडेल, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । रासस

0 तपाईका प्रतिक्रियाहरु: