स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:40:00 am

अख्तियारको हार आरोपीको जित

सामग्री प्रस्तुति Ram Prasad Panta

- श्रीधर खनाल/नयाँ पत्रिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएका सबैजसोले विशेष अदालतबाट सफाइ पाउन थालेका छन् । पछिल्लो एक वर्षमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा परेका १६ वटा मुद्दाको फैसला भएको छ, सोह्रैवटा मुद्दामा आरोपीले सफाइ पाएका छन् । अदालतबाट सफाइ पाउनेमा नायब सुब्बादेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव गोकर्ण पौडेलसम्म छन् । कोइराला प्रधानमन्त्री हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी लुकाएको आरोपमा अख्तियारले पौडेलमाथि अनुसन्धान अगाडि बढाएको थियो । गुल्मीको सामान्य परिवारबाट आएका पौडेलको आम्दानी कोइरालाको स्वकीय सचिव भएपछि नाटकीय रूपमा बढेको अख्तियारको अनुसन्धानले देखाएको छ । अख्तियारले दुई करोड ६ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति जोडेको आरोपमा पौडेलविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले अख्तियारको दाबी पुष्टि गर्ने कानुनी आधार नभएको भन्दै आरोपीलाई सफाइ दिएको छ । सफाइ दिइएका मुद्दामा राजस्व समूहमा भएको संस्थागत भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरूसमेत छन् । अख्तियारले ३१ साउन, २०५९ मा राजस्व प्रशासनका २२ कर्मचारीको घरमा छापा मारेको थियो । अर्थ मन्त्रालयका सहसचिव श्रीराम पन्तलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले पन्तले आर्जन गरेको एक करोड १७ लाख रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी भएको दाबी गरेको थियो । अख्तियारको छापामा परेका भन्सार विभागका शाखा अधिकृत देवीप्रसाद भण्डारीले समेत अदालतबाट सफाइ पाएका छन् । भण्डारीले आर्जन गरेको ६७ लाख ७८ हजार रुपैयाँ गैरकानुनी भएको अख्तियारको दाबी थियो । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सफाइ दिन विशेष अदालतले जगाएको पुरानो कानुनको फाइदा पूर्वसहसचिव सावित्री राजभण्डारीले पनि पाएकी छिन् । पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीकी श्रीमती सावित्रीलाई मुद्दा चलाउँदा अख्तियारले केशवलाई भने विपक्षी बनाएको थिएन । अमेरिकामा बस्ने राजभण्डारीकी छोरी मोनिकाको नाममा सावित्रीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको अख्तियारले जनाएको छ ।अदालतबाट सफाइ पाउनेमा लाउडा विमान भाडाको विषयमा अनियमितताको आरोप लगाइएका नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठसमेत छन् । लामो समयसम्म फैसला नभएको यस मुद्दामा विशेष अदालतले अख्तियारको मागदाबी नपुग्ने निर्णय गरेको थियो । फैसलामा चित्त नबुझाएर अख्तियार सर्वोच्च अदालत पुगेको छ ।यो एक वर्षमा नक्कली प्रमाण-पत्रको मुद्दामा भने अख्तियारको मागदाबी पुगेको ठहर विशेष अदालतको छ । विशेष अदालतको अभिलेखअनुसार गत आर्थिक वर्षमा नक्कली प्रमाण-पत्रसँग सम्बन्धित ४२ मुद्दा फैसला भएका छन् जसमा ३८ जनलाई दोषी ठहर गरिएको छ । तीन मुद्दामा मात्र सफाइ दिइएको छ भने एउटा मुद्दा खारेज गर्ने निर्णय भएको छ ।निर्णयगत र घुससँग सम्बन्धित १३ मुद्दा फैसला भएकामा सात मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । पाँच मुद्दामा भ्रष्टाचार गरेको ठहर भएको छ भने एउटा मुद्दामा आंशिक रूपमा भ्रष्टाचार भएको निर्णय गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईसँग सम्बन्धित मुद्दा विशेष अदालतले निर्णय गर्न नसकेर सर्वोच्च अदालत पठाएको छ । अख्तियारका कानुनी सल्लाहकार नन्दबहादुर सुवेदी अदालत बढी उदार भएकाले दोषीहरूले धमाधम सफाइ पाएको बताउँछन् । उनी भन्छन्, 'हामीले कमजोर ठानेका मुद्दामा समेत पहिला अख्तियारका पक्षमा फैसला हुन्थे । तर, अहिले प्रशस्त भ्रष्टाचार भएको र बलियो प्रमाण भएका मुद्दामा समेत अदालतले सफाइ दिन थालेको छ ।'अख्तियारले सुरुवातमा विशेष अदालतमा दर्ता गरेका मुद्दा अनुसन्धानमा केही कमजोरी रहेको अधिकारीहरू बताउँछन् । त्यस्ता कमजोरी हटाएर दर्ता गरिएका मुद्दामा पनि अदालतले सफाइ दिएपछि अहिले अख्तियार सर्वोच्च अदालतको फैसला कुरेर बसेको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको कुनै पनि मुद्दा फैसला हुन सकेको छैन ।सर्वोच्चको फैसलापछि मात्र नयाँ रणनीति बनाउने पक्षमा छ अख्तियार । 'सर्वोच्चबाट पनि हारियो भने नयाँ ढंगले सोच्नुपर्ला,' अख्तियारका कानुनी सल्लाहकार सुवेदीको भनाइ छ । आर्थिक वर्ष २०६४/०६५ मा सफाइ पाउनेहरू
गोकर्ण पौडेल २,०६,३०,९१६।५३
पूर्वसहसचिव, सावित्री राजभण्डारी २,९३,१५,३०७.८३
सहसचिव, नगेन्द्रप्रसाद घिमिरे, १,६९,७६,५३८।९३
उपसचिव, मुरारीवहादुर कार्की १,६३,६७,५६०।९२
सिडिइ डिल्लीरमण निरौला ६४,१०,५७८।००
सह-सचिव, प्रेमप्रसाद सुवेदी, ९६,१३,७७९।८८
युवराज शर्मा, व।का।नि। १०१४५२५१।९१
चक्रबन्धु अर्याल २६०८१५६१।३१
गुरुप्रसाद ढकाल १,७५,८९,२३३।६६
डा। लक्ष्मीराज पाठक ६९,४३,४४४।३६
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
शाखा अधिकृत देवीप्रसाद भण्डारी ६७,७८,४२६।६६
सहसचिव श्रीराम पन्त १,१७,६७,३२६।७१
नासु डोलराज शर्मा ३,५२,८७,४६७।४७

0 तपाईका प्रतिक्रियाहरु: