स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:29:00 am

क्रिकेटका महान् ब्याट्सम्यान ब्राडम्यान

सामग्री प्रस्तुति Ram Prasad Panta

डन ब्राडम्यानका रूपमा परिचित डोनाल्ड डन ब्राडम्यान विश्वकै महान् क्रिकेटरका रूपमा परिचित छन् । खेल्न छाडेको ६० वर्षसम्म पनि उनले बनाएको कीर्तिमान अरूले तोड्न सकेका छैनन् । आप\mनो समयमा असम्भव लाग्ने कीर्तिमान बनाउन सफल ब्राडम्यान विश्व क्रिकेटका महान् खेलाडीमा अग्रस्थानमा छन् । ९२ वर्षको उमेरमा सन् २००१ मा निधन भएका ब्राडम्यानले १९४८ मा इङ्ल्यान्डमा अन्तिम खेल खेलेका थिए । र, सन्यास लिनुअघि उनले कायम गरेको टेस्ट ब्याटिङ औसत ९९ दशमलव ९४ प्रतिशत छ । इङ्ल्यान्डविरुद्ध १९४८ मा खेलेको अन्तिम टेस्ट इनिङमा जब उनी आप\mनो औसत सय पुर्‍याउने क्रममा थिए, इरिक होलिएसले उनलाई डक आउट गरे । उक्त इनिङमा चार रन बनाएका भए उनको औसत सय पुग्ने थियो । 'ब्वाइ र्फम बोरल' का रूपमा परिचित ब्राडम्यानले कायम गरेका कीर्तिमान अझै पनि निराश भएका बखत अस्ट्रेलियाली युवाका लागि प्रेरणा बन्ने गरेको छ । मुलुकका उनै महान् खेलकुद नायक डन ब्राडम्यानको सयौं जन्मोत्सव अस्ट्रेलियालीले बुधबार भव्यताका साथ मनाए । क्रिकेटका निर्विवाद एकमात्र महान् खेलाडी ब्राडम्यानको जन्म २७ अगस्ट १९०८ मा न्यु साउथ वेल्समा भएको थियो । सानैदेखि क्रिकेटमा रुची राख्ने ब्राडम्यानले अभ्यासको आप\mनै शैली विकास गरेका थिए । बाल्य अवस्थामा गरेको अनौठो अभ्यास शैलीले उनलाई विश्वकै महान् ब्याट्सम्यान बनाउन मद्दत गरेको हो । पानी ट्यांकीका लागि घरछेउमा बनाएको पर्खालमा गल्फ बल ठोक्काउँदै उनी एक्लै अभ्यास गर्थे । सोही अभ्यासबाट उनले कठिनभन्दा कठिन बल पनि सहजै सामना गर्ने क्षमता विकास गरेका थिए । अप्ठ्यारो बलमा सहजै खेल्ने क्षमताका कारण हरेक तेस्रो इनिङमा शतक प्रहार गर्ने खेलाडीका रूपमा पनि उनी स्थापित भए । 'उनको नाम र उनले प्राप्त गरेको सफलता अन्य खेलाडीको पहुँचभन्दा धेरै टाढा छ । उनको समय र त्यसपछिका अन्य खेलाडीका लागि पनि,' रिक्की पोन्टिङ भन्छन्, 'उनको खेल्ने शैली हाम्रोभन्दा विल्कुल फरक थियो ।' केही सौखिन क्रिकेटप्रेमी उनले जोडेको चार रन भेटिएको दाबी गर्छन् । सो चार रन ब्राडम्यानको रन योगफलमा जोडे उनको खेल जीवनको औसत सय हुन जान्छ । 'अझै खेलिरहेको भए पनि उनको औसत विश्वका अन्य ब्याट्सम्यानभन्दा राम्रो नै हुन्थ्यो,' क्रिकेटर माइक हुसे भन्छन्, 'उनी सर्वकालीन महान् ब्याट्सम्यान हुन् र अझै पनि छन् ।' एक्लै अभ्यास गरिरहने ब्राडम्यानले १२ वर्षको उमेरमै स्कुलस्तरीय एक प्रतियोगितामा पहिलो शतक प्रहार गरेका थिए । विश्वमा हरेक खेलका कीर्तिमान बन्छन् र फेरि तोडिन्छन् । टेस्ट क्रिकेटको एक सय ३१ वर्षे इतिहासमा दुई हजार पाँच सय १९ ब्याट्सम्यान जन्मिए, तर ब्राडम्यान जहिले पनि भेट्न नसकिने क्रिकेटरका रूपमा रहेका छन् । उनको सफलता क्रिकेटमा मात्र होइन कुनै पनि खेलकै सर्वाधिक उपलब्धिमूलक मानिन्छ । विस्डनका अनुसार बलले खेल्ने कुनै पनि खेलमा ब्राडम्यान अग्रस्थानमा छन् । विश्वकै महान् खेलाडी मानिएका फुटबलर पेले पनि उनीभन्दा पछि रहेका छन् । उनले ब्याटिङ औसतमा मात्र नभई आप\mनो समयमा विभिन्न कीर्तिमान बनाएका थिए । तीमध्ये अझै पनि केही कीर्तिमान उनकै नाममा छ । २२ औं जन्मोत्सव मनाउनुअघि नै उनले धेरै कीर्तिमान बनाएका थिए । २० वर्षे खेल जीवनमा उनले एकै लयमा रन जोडिरहे । अस्ट्रेलियाका पूर्वकप्तान विल उडफुलको शब्दमा भन्नुपर्दा उनी टोलीका लागि तीन ब्याट्सम्यान बराबर थिए । कप्तान र प्रशासकका रूपमा जहिले पनि उनी आक्रामक र मनोरञ्जनात्मक क्रिकेटको पक्षमा रहे । जसका कारण उल्लेख्य संख्यामा दर्शक तान्न पनि उनी सफल भए । खेल जीवनबाट सन्न्यास लिएपछि पनि उनी प्रशासक, छनोटकर्ता र लेखकका रूपमा तीन दशकसम्म सक्रिय रहे । सन्न्यास लिएको ५० वर्षपछि पनि उनी अझै विश्वकै आइकन खेलाडीका रूपमा रहेका छन् । महान् खेलाडीको सम्मानमा अस्टे्रलियाले उनको तस्बिरअंकित हुलाक टिकट र सिक्का बनाउने गरेको छ । जीवित रहेकै अवस्थामा संग्रहालय बनाइएका उनी एकमात्र अस्ट्रेलियन हुन् । उनको स्मृति दिवसका अवसर पारेर २७ अगस्टमा रोयल अस्ट्रेलियन मिन्टले पाँच डलरको स्वर्ण मुद्रामा उनको तस्बिर कुँदेर सार्वजनिक गरेको छ ।
उच्च ब्याटिङ औसत- ९९।९४
उच्च शृंखला ब्याटिङ औसत -पाँच टेस्ट शृंखला) - २०१।५०
शतक कीर्तिमान - ८० इनिङमा २९ शतक -३६।२५ प्रतिशत औसतमा)
दोहोरो शतक - १२ वटा
शृंखलामा दोहोरो शतक- ३ वटा
एक दिनमा सर्वाधिक रन - ३०९ रन -सन् १९३०)
एकै प्रतिद्वन्द्वीविरुद्ध सर्वाधिक रन - इङ्ल्यान्डविरुद्ध ५,०२८
एक शृंखलामा सर्वाधिक रन - ९७४ रन -सन् १९३०)

0 तपाईका प्रतिक्रियाहरु: