स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:19:00 am

अब एसियाली बढी खतरामा !

सामग्री प्रस्तुति Ram Prasad Panta

थुप्रै एसियाली-अमेरिकीको जीवनमा परिवारको स्थान विशेष रहेको छ । उनीहरूका लागि शक्ति र सहयोगको मुख्य स्रोत परिवार रहेको हुन्छ । यो पूर्वीय वा एसियाली समाजको संस्कृति हो । तर, जब यस संस्कृतिमा गडबडी आउँछ अनि थाहै नपाई मानिस मात्र होइन, पूरै परिवारले पीडा पाउँछ । यसको उदाहरण हालै अमेरिकामा रहेका एसियालीका बीचमा भेटिएको छ । अमेरिकामा भएको एउटा सर्वेक्षणका अनुसार एसियाली मूलका अमेरिकीहरू परिवार संरचनाको फरक संस्कृतिमा सहज हुन सकिरहेका छैनन् । र, यसका कारण अमेरिकामा सबैभन्दा बढी आत्महत्या प्रयास गर्नेमा एसियाली मूलका अमेरिकी रहने गरेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोवैज्ञानिक डेभिसका अनुसार गरिबी र निराशाजस्ता नकारात्मक कुराले भन्दा एसियाली मूलका अमेरिकीलाई पारिवारिक-द्वन्द्वले बढ्ता असर पार्छ । पारिवारिक द्वन्द्वको जोखिम आत्महत्यासम्म पुग्नसक्ने चेतावनी डेभिसले दिएका छन् । राज्यले लगानी गरेको २००३ नेसनल ल्याटिनो एन्ड एसियन अमेरिकन स्टडीले गरेको प्रारम्भिक अनुसन्धानमा १८ वर्षभन्दा बढी उमेरका २००० एसियाली जनतालाई प्रश्न सोधिएको थियो । यस अध्ययनको प्रतिवेदन अगस्ट १७ मा बोस्टनमा सम्पन्न अमेरिकन साइकोलोजिकल एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । यस प्रतिवेदनले एसियाली-अमेरिकीमा पारिवारको असर कस्तो हुन्छ भन्ने देखाएको छ । कहिलेकाहीँ काउन्सिलिङ खोज्न गएका सीमान्तकृत जनजातिका नागरिकलाई मानसिक स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने पनि प्रतिवेदनमा बताइएको छ । 'सामान्यतः एसियाली-अमेरिकीले आफ्ना मनोवैज्ञानिक समस्याका बारेमा खुलेर कुरा गर्ने कमै सम्भावना छ,' साइकोलेजी एन्ड एसियन अमेरिकन स्टडिजका प्रोफेसर स्ट्यान्ली स्यु भन्छन् । आफ्ना व्यक्तिगत समस्यालाई एसियाली मूलका अमेरिकीले कमै खोल्ने गरेको पनि सामुदायिक कार्यकर्ताले बताएका छन् । सहयोग पाउने अवसर हुँदाहुँदै पनि एसियाली-अमेरिकीले मानसिक स्वास्थ्यकार्यकर्ताको सहयोग लिने निकै झिनो सम्भावना भएको अध्ययनले देखाएको छ । उनीहरू सांस्कृतिक रूपमा स्विकारिएका परम्परागत अनुशासन र पारिवारिक व्यवस्थामा भर पर्छन् । 'एसियाली संस्कृतिमा पारिवारिक मेलमिलाप र पारिवारिक एकतालाई महत्त्व दिइने भएकाले एसियाली मूलका मानिसहरूको आत्महत्याको व्यवहारको अध्ययन गर्न पारिवारिक द्वन्द्वलाई प्रमुखता दिनुपर्छ,' स्ट्यान्ली भन्छन् । उनले प्रश्न सोधेका २.७ प्रतिशत एसियाली-अमेरिकीले आफ्नो जीवनको कुनै समयमा आत्महत्या प्रयास गरेको बताएका छन् । संयुक्तराज्य अमेरिकामा एक प्रतिशत देखि ४.६ प्रतिशत आत्महत्याको प्रयास हुने गरेको बताइएको छ । पारिवारिक समस्या भएका एसियाली-अमेरिकीमा आत्महत्याको जोखिम अन्य एसियाली अमेरिकीभन्दा तीनगुणा बढी हुने गरेको छ । चीनियाँ मूलका अमेरिकी महिला र एसियन अमेरिकन विद्यार्थीहरूको समूहमा अन्यको भन्दा आत्महत्याको जोखिम बढी भएको अध्ययनमा बताइएको छ । चीनियाँ वृद्ध महिलामा पारिवारिक विखण्डनले आत्महत्याको जोखिम निम्त्याउने सम्भावना छ । 'यी धेरै महिलाले आफ्नो सम्पूर्ण जीवन परिवारका लागि समर्पित गरेका हुन्छन् । अचानक छोराछोरीले घर छोड्छन् । त्यस प्रकारको ठूलो परिवार नपाएपछि उनीहरूले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ,' स्ट्यान्ली भन्छन् । एसियाली मूलका विद्यार्थीहरूमा चाहिँ पारिवारिक अपेक्षाले गर्दा समस्या उत्पन्न हुने गरेको छ । 'हामीसँग राम्रो तथ्यांक त छैन तर, सफलताको कमीका कारण धेरै निराश हुने गरेका छन्,' स्ट्यान्ली भन्छन्, 'ग्रेड 'ए' को सट्टा ग्रेड 'बी' ल्याउनु प्रायः विद्यार्थीका लागि पाप गरेसरह हँुदैन, तर संस्कृति र पारिवारिक संरचना जहाँ पुरानो पुस्ताले नयाँ पुस्ताका लागि गरेको समर्पण भित्री रूपमा गढेको हुन्छ ।' परिवारको त्यो अपेक्षा पूरा गर्न नसक्दा विद्यार्थीले 'लज्जाबोध' महसुस गर्ने स्ट्यान्ली बताउँछन् । आप्रवासी बाबु-आमाका सन्तान र अमेरिकामा पढ्न गएका एसियाली मूलका विद्यार्थीबीच यो जोखिम बढी छ । एसियाली संस्कृतिमा परिवारको स्थान उच्च भए पनि परिवारभित्र उत्पन्न हुने समस्या हल गर्नु सबैभन्दा जटिल रहेको स्ट्यान्ली बताउँछन् । 'एसियाली मुलुकका अमेरिकी परिवारमा आत्महत्यासँग सम्बन्धित द्वन्द्वहरूको पहिचान गर्नु र त्यस्ता पारिवारिक समस्यालाई रोक्न हाम्रो अध्ययनले सल्लाह दिन्छ,' स्ट्यान्ली भन्छन् ।

0 तपाईका प्रतिक्रियाहरु: