स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:21:00 am

भत्कियो कोसीको बाँध, ४० हजार विस्थापित

सामग्री प्रस्तुति Ram Prasad Panta

सुनसरी, २ भदौ सुनसरीको पश्चिम कुसाहास्थित सप्तकोसीको बाँध फुटेपछि आधा दर्जन गाविस डुबानमा परेका छन् भने ४० हजार स्थानीयवासी विस्थापित बनेका छन् । बाढीमा परी कम्तीमा पाँचजना हराइरहेका छन् । बाँध फुटेपछि सुनसरीका पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, लौकही, प्रकाशपुरलगायत गाविस पूरै जलमग्न भएका छन् । रातिदेखि नै मानिस सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । पैदल यात्राबाट कहीँ जाने स्थिति नभएकाले मानवीय र धनमालको क्षति यकिन हुन सकेको छैन । आइतबार राति ११ बजेदेखि सप्तकोसी नदीमा पानीको बहाव एक्कासि बढ्न गई बाँध कटान तीव्र भएको थियो । भारत सरकारले बनाएको सप्तकोसी बाँधको पश्चिम कुसाहामा पर्ने १२१० र १२९० नम्बरको बाँध फुटेको सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताएका छन् । सुनसरीको श्रीपुर र हरिपुर गाविसमा पर्ने दुई गाउँका स्थानीय बासिन्दालाई उद्धार गर्न नसकिएको सेनाले जनाएको छ । ती गाउँका पाँचजनालाई बाढीले बगाएको खबर आएको र बाँकीको उद्धार प्रयास भइरहेको सशस्त्र प्रहरीको सिद्धकाली गणका गणपति खड्गबहादुर राईले बताए ।
फोटो :- बिरेन्द्र
काठमाडांैबाट आएको सेनाको हेलिकोप्टरले कोसीटप्पु वन्यजन्तु आरक्षका लागि खटिएको सेनाको श्रीबक्स गुल्मका सैनिक र आरक्ष केन्द्रका कर्मचारीहरूलाई उद्धार गरिरहेको छ । उनीहरूको उद्धारपछि स्थानीय बासिन्दालाई पनि उद्धार गरी सदरमुकाम इनरुवा ल्याइने गणपति राईले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली डुबान क्षेत्रमा तैनाथ छन् । पानीको बहाव तीव्र रहेकाले सुनसरीका अन्य एक दर्जनभन्दा बढी दक्षिणवर्ती गाविस खतरामा छन् । अर्ना र चराको एक मात्र संरक्षित क्षेत्रको रूपमा चिनिएको कोसीटप्पु आरक्ष केन्द्र पनि पूरै डुबानमा छ । आरक्ष केन्द्रका रुखहरूको टुप्पा मात्र देखिएका छन् । कतिपय स्थानीय बासिन्दा बाढीबाट जोगिन रुखका टुप्पामा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । उद्धारकर्मीहरू जान नसकेका कारण कतिपय स्थानीय बासिन्दा रोइरहेका छन् । स्थानीय बासिन्दा आफ्नो घरबार छोडेर कपडा र वस्तुभाउ लिएर सदरमुकाम इनरुवा, मधुवन र लौकहीमा आउने क्रम जारी छ । ४० हजार विस्थापित भएपछि राहत र उद्धारका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीले सहयोगका लागि सबैसँग आग्रह गरेको छ । सोमबार दिउँसो बसेको आपतकालीन बैठकले प्रभावित गाविसका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आउन आग्रहसमेत गरेको छ । विस्थापित भएकालाई सोमबारको रात जिल्ला प्रशासन कार्यालयले सुनसरी सदरमुकाम इनरुवाका सबै मावि, निमावि र प्राविमा बस्ने र खाने व्यवस्था गरेको छ । उनीहरूलाई राहतका लागि सहयोग गर्न प्रशासनले सबैलाई आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । भारत सरकारको बेवास्ताका कारण बाँध भत्कन गई हजारौं स्थानीय बासिन्दा घरबारविहीन भएपछि उनीहरूको उद्धार, राहत प्रदान गर्न तथा बाँध पुनर्निर्माण गर्न क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले पनि सुरक्षा निकाय र उद्धारकर्मी परिचालन गर्ने निर्णय गरेको छ । भारत सरकारले सम्झौताअनुरूप मर्मतसम्भार नगरेकाले बाँध फुटेर जिल्ला नै खतरामा परेको प्रजिअ भण्डारीले बताए । भारत सरकारले कोसी ब्यारेज सय वर्षका लागि लिजमा लिएको हो । यो अवधिमा कुनै समस्या आए वा मर्मत गर्नुपरे भारतले गर्नुपर्ने सम्झौता गरे पनि भारतको तर्फबाट समयमै ध्यान नदिँदा बाँध फुट्न गई सुनसरी जिल्ला नै खतरामा परेको हो । बाँध फुटेपछि नेपालको एक मात्र अर्ना र विभिन्न प्रजातिका चरा पाइने कोसीटप्पु वन्यजन्तु आरक्ष केन्द्रमा पनि पानी पसेर जलमग्न भएको संरक्षण अधिकृत मनोज शाहले बताए । दुई साताअघि नै बाँध फुट्ने संकेत देखिएको र प्रशासनलाई जानकारी गराएको तर नियन्त्रणका लागि कुनै पहल नगरिएकाले यो परिस्थिति आइपरेको शाहले बताए । स्थानीय बासिन्दाले बाँधहरू कटान भइरहेको जानकारी दिएको र आफ्नो कार्यालयको तर्फबाट पनि तत्कालै भारत सरकारलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । तर, समयमा ध्यान नदिँदा घटना भएको उनले बताए । कटान भइरहेको बाँध सोमबारदेखि नै मर्मत गर्ने आश्वासन भारतले दिएको तर सोमबारबाटै बाँध फुटेको उनले बताए । बाँध फुटेपछि सोमबार बिहान कोसी ब्यारेजमा भारत र नेपालका सुरक्षा अधिकारीहरूबीच बाँध पुनर्निर्माण गर्ने विषयमा कुराकानी भएको छ । कुराकानी भारतको तर्फबाट सुपोल जिल्लाका डिएम सरिफ आलाम र सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीबीच भएको थियो । कुराकानीमा बाँध निर्माणका लागि आवश्यक सामग्री र जनशक्ति सोमबारबाटै पठाउन भारतीय पक्ष्ा सहमत भए पनि सोमबार रातिसम्म कोही पनि आइनपुगेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । बाँध फुटिसकेकाले अब तत्काल बाँध निर्माण गर्ने सम्भावना कम रहेको उनले बताए । भ्ाारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोसी ब्यारेजको पानी निकासीका लागि पर्याप्त ढोका नखोलिँदा बढेको पानीको चापका कारण बाँध कटान सुरु भएको थियो । सम्भावित खतरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू, रेडक्रसकर्मीहरू घटनास्थलमा छन् । स्थिति नियन्त्रण गर्न प्रशासनले बिहान १० बजेदेखि त्यहाँका सबै ढोका पूर्णरूपले खोलिदिएको छ भने सो क्षेत्रमा उत्पन्न्ा खतरालाई मध्यनजर गर्दै प्रशासनले पौडीवाजसमेत परिचालन गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । विस्थापित बासिन्दा पूर्व-पश्चिम राजमार्गको हरिपुर खण्डको सडकमा बसेका छन् ।

0 तपाईका प्रतिक्रियाहरु: