स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

सुनसरी, ४ भदौ कोसीको भेलले बगाएका २७ जनाको शव बुधबार भारतको सुपौल जिल्लामा फेला परेको छ । उनीहरू सुनसरीको श्रीपुरमा एउटै घरको छतबाट बगेकाहरू हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । सुपौलका स्थानीय पत्रकार राकेश पटेलका अनुसार फेला परेका शवमा अधिकांश महिला, बालबालिका र वृद्धहरू छन् । कोसी नदी बिहारको सोही मार्ग भएर बग्ने गरेको भएकाले ती शव सुनसरीबाट बाढीले बगाएर ल्याएको यकिन भएको हो । शवहरू फेला परेको ठाउँ सुनसरी इनरुवादेखि २० किलोमिटर दक्षिण-पश्चिममा पर्छ । शव फेला परेको विषयमा सुनसरीको प्रशासनले केही बताउन चाहेको छैन । सुनसरीका प्रहरी प्रमुख यादव खनालले सञ्चारविहीन भएका कारण केही बुझ्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले भने शव फेला परेको विषयमा भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको जानकारी दिए । उद्धार गर्न गएको डंुगा सम्पर्कविहीन बाढीपीडितको उद्धारका लागि सुनसरीको हरिपुरतर्फ गएको नेपाली सेना र सशस्त्र प्रहरीको संंयुक्त उद्धार टोली चढेको डुंगा बुधबार राति ८ बजेसम्म सम्पर्कविहीन भएको छ । बाढीका कारण सयौं मानिस जोखिममा परेको सूचनाका आधारमा सुनसरीको लौकहीबाट हिँडेको चारवटा रबरको डुंगामध्ये एउटा राति ८ बजेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल बराहाबाहिनी पकलीका डिआइजी कृष्णकुमार तामाङले बताए । सम्पर्कविहीन डंुगाको खोजी जारी रहेको उनले जानकारी दिए । तर, सो डुंगा दुर्घटनामा भने नपरेको उनले दाबी गरेका छन् । अप्टिकल फाइबर काटिएका कारण फोन सम्पर्क हुने अवस्था छैन । उनीहरूले बोकेको सेटको पनि ब्याट्री चार्ज सकिएको हुनसक्ने आशंका तामाङले गरे । 'भोलि -बिहीबार) बिहानसम्ममा सम्पर्कमा आउलान्,' उनको अनुमान छ । स्थानीय प्रत्यक्षदर्शीले भने हरिपुर क्षेत्रबाट करिब ३५ जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याउने क्रममा बाढीको भेलले ढंुगा बगाएको दाबी गरेका छन् । सशस्त्रका प्रवक्ता कमल बस्नेतले पनि एउटा ढंुगा सम्पर्कमा नआएको बताए । उनका अनुसार सो डुंगामा दुई सशस्त्र प्रहरी र दुई सैनिक छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बाढीपीडितसहितको ढंुगा पल्टिएर बेपत्ता भएको सूचना आएको, तर पुष्टि नभएको बताए । पाँच हजारको उद्धार बाढीपीडितको उद्धारका लागि तीनवटा सेनाको हेलिकोप्टर र डंुगा अहोरात्र परिचालित रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । पृतनापति रामबहादुर गुरुङले बाढीग्रस्त क्षेत्रको प्रत्यक्ष निरीक्षण गर्दा आफूले सयौंलाई अझै घरको छत र रूखको टुप्पोमा बसेको देखेको बताए । कतिपयलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा नमानेको उनको भनाइ छ । 'हेलिकोप्टरबाट सैनिकले हात दिँदा उनीहरूले तिमीहरू जाउ भन्दै फर्काए,' पृतनापति गुरुङले भने, 'आफ्नो सम्पत्तिको मायाले गर्दा उनीहरू हेलिकोप्टरमा आउन डराएको हुनसक्छन् ।' सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बुधबार राति ८ बजेसम्ममा डुबान क्षेत्रबाट पाँच हजारलाई उद्धार गरिसकिएको जानकारी दिए । भण्डारीका अनुसार अझै आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा छन् । पानी नपरेमा शनिबारसम्ममा सबैलाई उद्धार गरिसक्ने पनि उनले बताए । बाढीबाट कति विस्थापित भए भन्ने यकिन तथ्यांक अझसम्म प्रशासनले दिन सकेको छैन । स्थानीय बासिन्दा तथा जिल्लाका सामाजिक संस्थाले भने एक लाखको हाराहारीमा विस्थापित भइसकेको दाबी गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वाइसिएल कार्यकर्ता, सर्वसाधरणसहित दुई हजारभन्दा उद्धारमा खटिएका छन् । बाढीपीडितका लागि राहत संकलन कार्य तीव्र गतिमा भइरहेको राहत संकलन समितिका संयोजक तथा सुनसरीका स्थानीय विकास अधिकारी गुरूप्रसाद सुवेदीले बताए । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राहत संकलन र वितरण तीव्र भएको उनको भनाइ छ । हाल राहत सामग्रीका रूपमा चामल, चिउरा, भुजा, नुन, चाउचाउ, बिस्कुट, कम्मल, गुन्द्रीलगायत सामग्री संकलन भइरहेको छ । इनरुवाका विद्यालय तथा क्याम्पसमा अस्थायी शिविर खडा गरेर बसेकामध्ये धेरै बालबालिका बिरामी पर्न थालेपछि स्वाथ्यकर्मीको विशेष टोली परिचालन गरिएको छ । आधा दर्जन स्वास्थ्य टोली हाल क्रियाशील रहेका छन् । बाढीबाट प्रभावित बालबालिकामा महामारी फैलन सक्ने भएकाले सेनाको स्वाथ्यकर्मी टोली पनि तयारी अवस्थामा राखिएको दैविक प्रकोप उद्धार समिति सुनसरीको संयोजकसमेत रहेका प्रजिअ भण्डारीले बताए । 'आवश्यक परे काठमाडौंबाट पनि स्वाथ्यकर्मीको थप टोली झिकाउने तयारी भइरहेको छ,' उनले भने । उता, बाढीका कारण सुनसरी र सप्तरीबीचको सम्पर्क टुटेका कारण सुनसरी सदरमुकाम आउन नसकेका २५ हजारजति बाढीपीडित सप्तरी प्रशासनको शरणमा पुगेका छन् । कोसी ब्यारेजमा आएर बसेका उनीहरूलाई उद्धार गरी संरक्षण दिइएको सप्तरीका प्रजिअ जिवच्छ मिश्रले बताए । उनीहरूका लागि बस्ने, खाने र उपचारको सबै मिलाइएको प्रशासनले जनाएको छ । हाल १२ वटा शिविरमा ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ । प्रेम बास्तोला/नयाँ पत्रिका

0 तपाईका प्रतिक्रियाहरु: