स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:40:00 am

यात्रा बंकरदेखि बालुवाटारसम्म

सामग्री प्रस्तुति Ram Prasad Panta

१ फागुन २०५२ :गणतन्त्र स्थापनाका लागि माओवादी नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु । ३१ साउन २०६५ :माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालका प्रधानमन्त्री निर्वाचित । जनयुद्ध सुरु गरेको १२ वर्ष पाँच महिनापछि माओवादी अध्यक्ष प्रचण्डले गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्दै इतिहास बनाएका छन् । चुनाव सकिएको चार महिनापछि संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका हुन् । संविधानसभा चुनावमा दुई क्षेत्रबाट चुनिने पाँच सभासद्मध्ये एक हुन् प्रचण्ड । उनी रोल्पा २ र काठमाडौं १० बाट चुनिएका हुन् । सशस्त्र जनयुद्ध थालनीपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका प्रचण्ड र उनका सहकर्मीहरूलाई आतंककारी घोषणा गरेर २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले टाउकाको मोल तोकेको थियो । संयोगै हो, गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बन्ने होडमा प्रचण्डका प्रतिस्पर्धी थिए उनै देउवा । देउवाले भन्दा चार गुनाभन्दा बढी मत ल्याएर प्रचण्ड प्रधानमन्त्री भएका छन् । माओवादी सशस्त्र युद्ध हाँक्ने प्रचण्डलाई मन पराउनेहरू उनलाई 'स्वप्निल' नेता भन्छन् भने विरोधीहरू महत्त्वाकांक्षी भन्छन् । प्रचण्डलाई 'पहिलो राष्ट्रपति'को प्रस्ताव गरेर माओवादी संविधानसभा चुनावमा होमिएको थियो । संविधानसभा चुनावमा माओवादीले कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेको थियो । तर, चुनावपछि राष्ट्रपतिलाई 'सेरेमोनियल' मान्ने व्यवस्था भएपछि प्रचण्ड प्रधानमन्त्री बन्न तयार भएका थिए । नेपाली राजनीतिको दुनियाँमा 'ट्याक्टफुल' नेताका रूपमा चिनिन्छन् प्रचण्ड । संसद्वादी दल र राजालाई उपयोग गरेर होस् या फुटाएर, प्रचण्डले नेतृत्व गरेको माओवादीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्दै आएको विश्लेषकहरूको भनाइ छ । प्रचण्ड राजनीतिक खेलमा माहिर मात्र होइन, कुशल संगठक पनि मानिन्छन् । आफ्नै पार्टीभित्र र बाहिरको द्वन्द्वलाई पहिचान गरी समाधान गर्न र समन्वय गर्न उनी सिपालु मानिन्छन् । सैन्य तथा दर्शनको क्षेत्रमा उनलाई यो तहमा पुर्‍याउने हस्ती मानिन्छन्- मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादल । मुक्तिराम र भवानी दाहालका ६ छोरी र दुई छोरामध्ये सबैभन्दा जेठा छोरा हुन् प्रचण्ड । उनका एक मात्र भाइ गंगाराम दाहालले वनविज्ञानमा विद्यावारिधि गरेका छन्, उनी इन्डोनेसियामा बस्दै आएका छन् । प्रचण्डका बहिनीहरू अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी र सरस्वती पाठक हुन् ।गोठाला प्रचण्डःकास्कीको ढिकुरपोखरी-२ लेवाडेमा निम्नमध्यम वर्गीय किसान परिवारमा प्रचण्ड २०११ मंसिर २६ मा जन्मेका थिए । आठ वर्षको उमेरसम्म उनी 'बाख्रा गोठालो' लागेका थिए । परिवार चितवनको शिवनगर झरेपछि दुई वर्षसम्म पनि प्रचण्डले स्कुल नगई भैंसी चराए । संयोग ! गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि सानो छँदा भैंसी गोठला नै थिए । हुन त उनी ०१७ देखि ढिकुरपोखरीकै महेन्द्र प्राविमा भर्ना भएका थिए । तर, स्कुल गएनन्, क्लास पनि चढेनन् । परिवार ०१९ मा चितवनस्थित शिवनगर- ८ भीमसेननगर झर्‍यो । दुई वर्ष भैंसी चराएपछि मात्र उनी नारायणी विद्यामन्दिर शिवनगरमा भर्ना भए । तर, एकैचोटि तीन कक्षामा भर्ना भए । चार कक्षामा दोस्रो भए । पाँचबाट उनी सिधै सातमा उक्लिए । १० कक्षामा उनी प्रथम भए । डा. बाबुराम भट्टराई बोर्ड प्रथम भएको ०२६ मा नै प्रचण्डले दोस्रो श्रेणीमा एसएलसी पास गरे । एसएलसी रिजल्ट आउँदा उनका बुबा मुक्तिराम बर्दियामा जग्गा खुलेको भन्दै बर्दिया गएका थिए । उनकी आमाले दुई सय रुपैयाँ सापटी खोजेर पढ्न काठमाडौं पठाएकी थिइन् । पाटन संयुक्त क्याम्पस पाटनमा आइएस्सीमा भर्ना भए । पाटन क्याम्पसमा ०२७ देखि ०२९ सम्म आइएस्सी पूरा गरे । त्यसपछि उनी चितवन फर्किए । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट उनले कृषिमा स्नातक गरे । स्नातकोत्तर अध्ययनका लागि उनी फेरि काठमाडौं छिरे । जनप्रशासन पढे । तर पूरा गरेनन् । घरजम१० कक्षा पढ्दा ०२६ वैशाखमा सीता पौडेलसँग प्रचण्डको मागीबिहे भयो । प्रचण्डपत्नी सीता माओवादी केन्द्रीय सल्लाहकार हुन् । प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा छन् । माहिली छोरी रेणु समानुपातिकबाट सभासद् छिन् । रेणुका पति अर्जुन पाठक माओवादीको नेवा राज्य समिति सदस्य छन् । जेठी छोरी ज्ञानु दाहालका पति अर्जुन खत्री 'सागर' माओवादी चितवन सदस्य छन् । कान्छी छोरी गंगा दाहालको बिहे भारतको सिलगुढीमा नारायणविक्रम प्रधानसँग भएको छ । प्रधान जनयुद्धकालमा मोहन वैद्य किरणसँगै सिलगुढीमा पक्राउ परेका थिए । प्रचण्डपुत्र प्रकाश दाहाल माओवादी राज्य समिति सदस्य छन् । छविलाल भए पुष्पकमल कक्षा १० मा छँदा छविलाल दाहालबाट उनले नाम परिवर्तन गरे- पुष्पकमल दाहाल । भूमिगत राजनीतिमा प्रवेश गरेपछि उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम प्रयोग गरे । तर, सशस्त्र जनयुद्धले उनलाई प्रचण्डको रूपमा स्थापित गरिदियो । उनले पकटपटक भनेका छन्, 'मलाई प्रचण्ड नाम नै प्यारो लाग्छ ।'आइएस्सी सकेर प्रचण्ड चितवन फर्किए । उनले एसएलसी पास गरेको विद्यालय नारायणी विद्यामन्दिर मावि शिवनगरमै ०२९ मा पढाए । यही वर्ष उनले नवलपरासीस्थित डण्डा माविमा पनि पढाए । राष्ट्रिय स्वयंसेवक तालिमअन्तर्गत उनलाई तेह्रथुम आठराईमा खटाइएको थियो । तर, उनले गोरखा आरुघाटको भीमोदय माविमा पढाउने अवसर मिलाए । आरुघाटमा ०३३ देखि ०३५ सम्म पढाए । उनले ०३२ मा अमेरिकी सहयोग संस्था युएसएडमा पनि काम गरे । राजनीतिमा साइत एसएलसीको समयमा नै प्रचण्डलाई राजनीतिको हावाले छोएको थियो । संयोग ! शिवनगरको नहरदेखि तलको बस्तीमा कम्युनिस्ट र माथि रहेछन् कांग्रेस । प्रचण्डको घर नहरदेखि तल थियो, त्यसैले प्रचण्डले ०२८ मा पुष्पलाल समूहको पार्टी सदस्यता लिए । त्यतिखेर पुष्पलाल समूहमा रहेका (पछि सर्वहारावादी श्रमिक संगठनका नेता) रूपलाल विश्वकर्माले उनलाई सदस्यता दिएका थिए । ०३१ मा प्रचण्डसहित रामबहादुर थापा बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेल मिलेर 'माक्र्सवादी अध्ययन समूह' गठन गरे । ०३४ मा खम्बसिंह कुँवरबाट सदस्यता लिएर उनी चौथो महाधिवेसनमा प्रवेश गरे । गोरखाको आरुघाटबाट मास्टरी छाडेर चितवन फर्किएपछि उनी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडे । पूर्णकालीन भएको एक वर्षपछि अर्थात् ०३६ मा चौथो महाधिवेसनको चितवन जिल्ला समितिमा पुगे । ०३८ मा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव बने । ०४० मा उनी संघको अध्यक्ष बने । उनले अयोध्यामा भएको पार्टीको प्लेनममा भाग पनि लिए । त्यही वर्ष मोहनविक्रम सिंह र निर्मल लामा गरी पार्टी दुई भागमा विभाजित भयो । उनी लागे मोहनविक्रमतिर । ०४१ मा नेकपा मशालको पाँचौं केन्द्रीय महाधिवेसनबाट उनी केन्द्रीय समितिमा निर्वाचित भए । उनी ०४२ मा नेकपा मशालको पोलिटब्युरो सदस्य भए । पार्टीभित्र द्वन्द्व चर्किएपछि ०४२ मा फेरि मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी पनि फुट्यो । मोहन वैद्य किरणले नेतृत्व गरेको बहुमतपक्षतिर लागे प्रचण्ड । मोहनविक्रम सिंहको नेकपा मसाल (पातलो स) र मोहन वैद्य किरणले नेतृत्व गरेको मशाल (मोटो श) को रूपमा चिनियो । प्रचण्ड भए महामन्त्री ०४४ मा भएको 'सेक्टर आन्दोलन'को असफलतापछि मोहन वैद्य किरणले महामन्त्री पद त्यागे । महामन्त्री भए प्रचण्ड । ०४६ मा प्रचण्ड नेकपा मशालको महामन्त्री बने । उनले ०४६ को आन्दोलनमा पार्टीको भूमिका राजधानीमै बसेर निर्वाह गरे । ०४८ मा रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन, निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेसन र प्रचण्डले नेतृत्व गरेको नेकपा मशालबीच एकता भएर बन्यो- नेकपा एकता केन्द्र । र, त्यसको महामन्त्री बने प्रचण्ड । नेकपा एकता केन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल बन्यो । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको जनमोर्चाले ०४८ को संसदीय चुनावमा नौ सिट जितेर तेस्रो ठूलो दल बन्यो । संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै मोर्चा संसद्मा थियो, पार्टीले सशस्त्र जनयुद्धको तयारी गर्‍यो । तत्काल जनयुद्ध थाल्ने विषयमा प्रचण्ड र निर्मल लामा समूह (जसको नेतृत्व अहिले प्रकाशले गरेका छन्) बीच द्वन्द्व चर्कियो । अन्ततः ०५१ मा नेकपा एकता केन्द्र विभाजित भयो । प्रचण्ड समूहले बनायो नेकपा माओवादी र प्रकाश समूहले उही नाम कायम गर्‍यो- नेकपा एकता केन्द्र । सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने समूहको नेतृत्व गरेका प्रचण्ड ०५१ मा नेकपा माओवादीको महामन्त्री बने । ०४६ को जनआन्दोलनताकादेखि जनयुद्ध थालनीसम्म ललितपुरमा डेरा लिएर बसेका थिए प्रचण्ड । तर, जनयुद्धको थालनीसँगै उनी र उनका सहकर्मीको कडा भूमिगत जीवन थालनी भयो ।जनयुद्ध थालिएको एक महिनापछि स्याङ्जाको एउटा गाउँमा पोलिटब्युरो बैठक बस्यो । बैठकपछि प्रचण्ड केही समय लुम्लेको कृषि फाराम बसे । त्यसपछि उनी भारतको सिलगुढी छिरे । जनयुद्ध थालिएको पाँच महिनापछि सिलगुढीमा केन्द्रीय समितिको बैठक बस्यो । नेपाल आउन-जान सजिलो भएकाले माओवादीको हेडक्वार्टर सिलगुढीमै राखियो, एक वर्षसम्म । भूमिगत रूपमा उनी गाजियावाद, पञ्जाब, जालान्धरमा बसेर जनयुद्ध हाँके । प्रचण्ड डेढ वर्ष मुम्बई पनि बसे । माओवादी अध्यक्ष २०५७ मा भएको माओवादी दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादी महामन्त्री प्रचण्ड पार्टी अध्यक्ष बने । सशस्त्र संघर्ष गर्न गठन भएको जनमुक्ति सेनाको सर्वोच्च कमान्डर बने २०५८ म्ाा । भारतमा माओवादी नेता भकाभक पक्राउ पर्न थालेपछि प्रचण्ड नेपाल फर्किए । हेडक्वार्टर रोल्पा सर्‍यो । जनयुद्धका पछिल्ला वर्ष हेडक्वार्टर रोल्पा र रुकुममा बस्यो । शाहीकालमा पनि प्रचण्ड रोल्पा-रुकुमै रहे । प्रचण्डले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए । प्रचण्ड असार २ ०६३ मा बालुवाटारमा सार्वजनिक भए । त्यस दिनयता प्रधानमन्त्री प्रचण्डको खुला राजनीति सुरु भयो । माओवादीको प्रत्यक्ष भूमिकामा शान्ति-सम्झौता, अन्तरिम संविधान र व्यवस्थापिका संसद्को अभ्यास पूरा गर्दै संविधानसभा चुनाव पनि सम्पन्न भएको छ । चुनावपछिको चारमहिने खिचातानीपछि शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । रोल्पा र रुकुममा बंकरमा बसेर जनतालाई सपना बाँड्ने प्रचण्ड अब प्रधानमन्त्री निवास बालुवाटारमा बसेर जनताका सपना पूरा गर्ने भूमिकामा पुगेका छन् । प्रचण्डले गणतन्त्र स्थापनाका लागि हाँकेको जनयुद्धमा १३ हजार दुई सय ४६ मानिस मारिए । सयौं अहिले पनि बेपत्ता छन् । गणतन्त्र स्थापना भएर शक्तिशाली प्रधानमन्त्री भएका प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहिद र बेपत्ता परिवारको सपना र विश्वास कसरी पूरा गर्छन् ? जनता प्रतीक्षा गरिरहेका छन्, प्रचण्डको अग्निपरीक्षा सुरु भइसकेको छ । - नवीन विभास/नयाँ पत्रिका

0 तपाईका प्रतिक्रियाहरु: