स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग शपथ लिने बेला लगाएको एउटा पोसाक देखेर माओवादी नेताहरू नै चकित परे। अस्ति सोमबार प्रधानमन्त्री प्रचण्डले पार्टी निर्णयअनुसार नै पोसाक लगाउनुभए पनि सर्टमाथि लगाउनुभएको टाईका बारेमा भने पार्टीले निर्णय नगरेको फेलापरेको छ। प्रधानमन्त्री प्रचण्ड सर्ट, कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो। शपथग्रहण गर्नुअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाक लगाएर जाने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्दै दौरा–सुरुवाल लगाएर जाँदा राम्रो हुने आफूलाई लागेको तर त्यसबारे सल्लाह दिन नेताहरूलाई आग्रह गर्नुभएको थियो। तर, अधिकांश नेताले भने त्यसको विरोध गर्दै साधारण पोसाकमा शपथग्रहण गर्न सल्लाह दिएका थिए। 'हामीले विगतमा पनि पुरानो राष्ट्रिय पोसाकको विरोध गर्दै आयौँ,' उनीहरूको भनाइ थियो, 'अब त्यही पोसाक लाएर जाँदा पार्टीपङ्क्ति पक्कै पनि खुसी हुने छैन, तपाईं विवादमा पर्नुहुने छ।' अधिकांश नेताहरूले त भादगाउँले टोपी पनि आवश्यक नभएको बताएका थिए। तर, प्रचण्डले भने भादगाउँले टोपी कुनै पनि हालतमा लगाएर जाने बताउनुभएको थियो। 'कम्तीमा एउटा चिजबाट त जनतालाई सन्तुष्टि दिनुपर्छ,' प्रचण्डले भन्नुभएको थियो। शपथग्रहणमा प्रचण्डले टाई लगाएकोमा भने नेताहरूल्ो असन्तुष्टि व्यक्त गरेका छन्। गत वर्ष स्वीटजरल्यान्ड भ्रमणमा जाँदा होस् वा कुनै कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा होस्, प्रचण्डले टाई लगाउनुभएको छैन। यता, शपथग्रहणका सहभागीहरूले भने राष्ट्रिय पोसाक नलगाएकोमा असन्तुष्टि पोखेका छन्। कतिपयले त यतिसम्म भने, 'भादगाउँले टोपीसहित दौरा, सुरुवाल र कोट लगाएको भए प्रचण्डको व्यक्तित्व विशाल देखिने थियो र त्यसबाट परमानन्द प्रकरणमा आहत भएको राष्ट्रियतामाथि राहत पुग्ने पनि आशा थियो।' कसैको दबाबमा हो वा कसैलाई खुसी पार्नका लागि, प्रचण्डले राष्ट्रिय पोसाक नलगाउनाको खास कारण भने प्रचण्डले खोल्नुहोला वा नहोला, भन्न गाह्रो छ।' तेस्तैगेरी प्रचण्ड प्रधानमन्त्री भइसकेपछि नेकपा माओवादीले राज्य संयन्त्रको कुनै पनि निकायसँग निहुँ नखोजे हुन्थ्यो भन्ने जनचाहना भए पनि माओवादीले जनताको यस्तो चाहनाप्रति सरोकार राख्न चाहेन। खासगरी नेपाली सेनालाई फेरि पनि दुःखी बनाउने कार्य नेकपा माओवादीले गरिदिएको छ। शताब्दीयुँदेखि राजाप्रति वफादार रहँदै आएको भनिने नेपाली सेना नेपालको लोकतान्त्रिकरणको क्रममा भएको परीक्षामा उत्तीर्ण भइसकेको छ। राजतन्त्र कि गणतन्त्र भन्ने विवादबाट समेत आफूलाई अलग राखी सेना कुनै व्यक्ति या परिवारविशेषको नभई सिङ्गै देशको हो भन्ने प्रमाणित गराइसकेको अवस्थामा पनि माओवादीले सेनाप्रति दर्शाएको व्यवहारलाई पूर्वाग्रही मानिएको छ। प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष प्रचण्डको चयन भएपछि उहाँलाई सुरक्षा दिने काम स्वतः राष्ट्रिय सेनाको हुनुपर्नेमा पार्टी समर्थित जनसेनालाई प्रधानमन्त्री सुरक्षाको जिम्मेवारी दिने प्रयत्न गरिएकोले राष्ट्रिय सेनाप्रति माओवादीको पूर्वाग्रह झल्किएको हो। विश्वमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति तथा राष्ट्रिय महत्त्वका सम्वेदनशील निकायहरूको सुरक्षा राष्ट्रिय सेनाले गर्ने प्रचलन रहिआएको छ। तर यहाँ सेनाको मनोबल नै गिराउने गरी प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न खोजिनुलाई अस्वाभाविक मानिएको छ। यस सम्बन्धमा हिजो मंगलबार प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति रुक्माङ्गद कटवालबीच भएको भेटवार्तामा पनि यस सम्बन्धमा कुराकानी भएको बुझिएको छ। कुराकानीका क्रममा प्रचण्डले प्रधानसेनापति कटवाललाई राष्ट्रिय सेनाको मनोबल गिराउने प्रकारको कुनै कार्य नहुने विश्वास दिलाउनु भएको बुझिएको छ।

0 तपाईका प्रतिक्रियाहरु: